राष्ट्रिय

कारागार भित्रको विकृति रोक्न माग गर्दै नारावाजी

- राजेन्द्र मानन्धरदोलखा

दोलखा कारागारभित्र लागृुऔषध, मादक पदार्थको व्यापार, गुणस्तरहीन खाना र रकम ठगेको आरोपसहित कैदीवन्दीहरुले आन्तरिक प्रशासनविरुद्ध वहिष्कार आन्दोलन थालेका छन् । कारागारका चौकीदार, मुल नाइके र नाइकेहरुबाट शोषणका साथै विकृति बढाएको भन्दै अन्त्यको माग गर्दै कैदीहरुले आज बिहान मुलढोकामा नारावाजी गरेका थिए । 

सुरक्षाकर्मीलाई समेत प्रवेशमा रोक लगाउदै उनीहरुले मुलढोकामा ताला लगाएका छन् । असुरक्षाको कारण देखाउदै चौकीदार र नाइकेलाई भने सुरक्षाकर्मीले आफ्नो सुरक्षामा राखेको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आन्तरिक प्रशासनका कैदीबन्दीहरुबाट रासन र सुविधामा ठगिएको भन्दै नारावाजी भएको वताउनुभयो । कैदीवन्दीले प्रजिअ शर्मासँग चौकीदार र नाइकेहरुलाई अर्को जेल सरुवा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

जेल भित्र लागुऔषधको खुलमखुला बिक्री, मादक पदार्थ सेवन गरेर होहल्ला, गुणस्तरहीन खाना वितरण र रकम असुली हु्ने गरेपनि प्रशासन मौन बसेको कैदीहरुको आरोप छ । सरकारबाट रासन पाएपनि खानाका लागि अतिरिक्त मासिक ३ सय रुपैयाँ तिर्नु परेको बताउदै उनीहरुले विकृति बारे बोले नाईकेहरुले कुटपिट गर्ने गरेको गुनासो गरेका छन् ।