अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौंपदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उप–सचिव राजेन्द्र ढुङ्गानाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सेवाको पदमा रहँदा उप–सचिव ढुङ्गानाले आर्जन गरेको कुल सम्पत्ति मध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसाको स्रोत नखुलेपछि आज आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।
ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९ साउन १९ देखि २०७५ असार ३२ गते सम्मको आर्जन सम्पत्तिविरुद्ध आयोगले अनुसन्धान गरेको थियो ।
अख्तियारका प्रवक्ता कोइरालाका अनुसार २६ बर्षको अबधिमा ढुंगानाको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ हुने तर सो अवधिमा उनले गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ अस्वभाविक देखिएको र त्यसमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत नखुलेको पाइएको हो ।
पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति सह–सचिव ढुङ्गानाले श्रीमती मधु कोइरालाको नाममा समेत राखेको पाईएको आयोगले जनाएको छ ।
उनीविरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढुङ्गाना दम्पत्तिविरुद्ध आयोगले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा बिगो माग गरेको छ ।