राष्ट्रिय

एमसीसी : अध्ययन कार्यदलले आज प्रतिवेदन बुझाउँदै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले गठन गरेको कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ । गत माघ १९ गते वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले दिईएको दश दिनपछि थप १० दिनको समय लिँदै अध्ययन प्रतिवेदन तयार पारेको हो । 

साँझ ५ बजे कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने कार्यदल संयोजक झलनाथ खनालले जानकारी दिनुभयो । दस्तावेज अध्ययन तथा विश्लेषणसंगै बिज्ञहरुसंगको छलफलपछि कार्यदलले ६० पृष्ठ लामो सुझाव सहितको प्रतिवेदन तयार पारेको हो । कार्यदलले यथास्थितीमा एमसीसी विद्ययेक पास गर्न नसकिने आशयको प्रतिवेदन तयार पारेको छ । यसमा गम्भीर अध्ययनको आवश्यक्ता औल्याउदै प्रतिवेदनमा सार्बभौमसत्ताको मामलामा चुक्न नहुने सुझाव दिईएको संयोजक खनालले बताउनुभयो ।

 गत महिना बसेको नेकपा केन्द्रिय कमिटिको बैठकमा सदस्यहरुले एमसीसीको बिषयमा नेतृत्वसंग ठोस धारणा मागेपछि पार्टी नेतृत्वले बरिष्ठ नेता खनालको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलमा भीम रावल र प्रदिप कुमार ज्ञवाली सदस्य रहेका छन् ।