राष्ट्रिय

बलेवा विमानस्थल कालोपत्रेको काम सुरु

- प्रकाश बरालबागलुङ

बागलुङको बलेवा विमानस्थलको स्तरोन्नतिको काम थालिएको छ । बागलुङ नगरपालिका १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थल स्तरोन्नतिको शिलान्यास गर्नुभयो ।

आगामी एक वर्षभित्र सो विमानस्थलको धावन मार्ग कालोपत्रे लगायतको स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । २०१८ सालदेखि नियमित सञ्चालन भएको विमानस्थलमा असुरक्षाको कारण देखाउँदै २०४८ बाट बन्द गरिएको थियो । पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको विमानस्थल सञ्चालनका नेपाल नगारिक उड्ययन प्राधिकरणले पहल गरेको थियो । धावन मार्गमा खाल्डाखुल्डी भएको भन्दै प्राधिकरणले असुरक्षाको कारण देखाउँदै उडान बन्द गरेको थियो । 

प्राधिकरणले सो विमानस्थलको ७ सय मिटर लामो धावनमार्ग कालोपत्रेका लागि चालू आर्थिक वर्ष ७ करोड रुपैयाँ विनियोजन गरेको छ । धावन मार्गको २३ मिटर खण्डमा कालोपत्रेको आजबाट सुरु भएको र आगामी दशैंसम्म काम सक्ने वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । कालोपत्रेका लागि काष्ठमण्डप कन्स्ट्रक्सनले जिम्मा लिएको छ ।

प्राधिकरण र बागलुङ नगरपालिकाको सहमतिमा हरेक साताको आईतबार र बिहीबार उडान भर्ने गरेको थियो । ६ महिना नबित्दै उडान रोकिएको थियो । 

चालू वर्ष भित्रै काम सक्ने गरी मालढुंगादेखि बलेवाको पानी ट्यांकी सम्मको १० किलोमिटर सडक पनि कालोपत्रे गर्ने तयारी गरिएको छ ।