फागु महोत्सव सुरु
- जनकपुरमिथिला नाट्यकला परिषद् (मिनाप) को बहुचर्चित वार्षिक कार्यक्रम ‘फागु महोत्सव–२०७६’ तथा महामूर्ख सम्मेलन जनकपुरमा आज विधिवत सुरु भएको छ ।
दुई दिवसीय महोत्सवको पहिलो दिन आज आयोजित प्रतियोगात्मक होली गीत गायनमा मिथिला नगरपालिकाको जमुनीवास होरैया समूह प्रथम भएको छ भने धनुषाको वेला दोश्रो तथा महोत्तरीको विश्वम्भरपुर समूह तेश्रो भएको छ । विजयी समूहहरुलाई चाँदीको तक्मा, चाँदीको शिल्ड, प्रस्तीपत्र, नगद तथा डम्फा प्रदान गरेर पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा गीद्धा वेलापटी, जमुनीवास, विश्वम्भरपुर, लोहना तथा बेला गरी पाँच होलैया समूह सहभागी थिए ।
डम्फा प्रतियोगितामा ग्रामीण होलैया समूहहरुले प्रदर्शन गरेको फागु गीत, जोगिरा दर्शक दीर्घालाई मन्त्र मुग्ध बनाएको थियो । फागु महोत्सवको प्रारम्भ डम्फा बजाएर गरिएको थियो ।
महोत्सवको दोश्रो दिन सोमवार महामूर्ख सम्मेलन आयोजन गरिने छ । फागु पर्वको पूर्व सन्ध्यामा आयोजित हुदै आएको महामूर्ख सम्मेलनमा समाजिक, आर्थिक, साहित्यिक, सांस्कृतिक तथा खेलकुद लगायतका विधामा उत्कृष्ट योगदान दिनै एक जनालाई महामूर्ख तथा अन्य केही जनालाई विभिन्न व्यङात्मक विभुषणले विभूषित गर्ने चलन छ ।
साहित्यकार राजेन्द्र प्रसाद विमल, पूर्व मन्त्री रामचन्द्र झा, बृहत्तर जनकपुर क्षेत्रविकास परिषदका पूर्व अध्यक्ष दीगम्बर राय, राजनीतिक समीक्षक सिके लाल, साहित्यकार ओमकुमार झा, वृषेशचन्द्र लाल,रामभरोस कापडि भ्रमर, नेपाली काग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव,समाजसेवी पवन सिंहानिया तथा जनकपुरधाम उपमहानगर पालिकाका मेयर लालकिशोर साहलगायत महामूर्ख घोषित भई सकेका छन् । महामूर्खको घोषणा अन्तिम दिनमात्र गर्ने चलन छ ।
मिनाप अध्यक्ष परमेश झाले भन्नुभयो, 'महामूर्खका लागी धेरै नाममाथि छलफल भई रहेको छ । सोमवारसम्म निर्णय हुन्छ ।'
माघ शुक्ल पञ्चमी (सरस्वती पूजा) देखि वसन्त ऋतुको आगमन हुन्छ । मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म फागु गीत गाउने चलन छ । दुई दशक अघिसम्म मिथिलाञ्चलको गाउँ गाउँमा राती फागु गीत गाउने चलन थियो तर अचेल फागु गीत गाएको विरलै सुनिन्छ ।
मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिक मिथिलाञ्चलमा लोप हुन गईरहेको फागु गीत परम्परालाई निरन्तरता दिन डम्फा प्रतियोगिताको आयोजन गरिएको बताउँनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘लोकगीत एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुने हो । अचेल ग्रामीण क्षेत्रमै फागु गाउने परम्परामा ह्रास आएको छ । यसलाई पुनर्जीवीत गर्न प्रतियोगिताको आयोजन गरेका हौं ।’