कोरोना विरुद्ध लड्न आपतकालीन कोषको प्रस्ताव
- काठमाडौंभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्न सार्क राष्ट्रबीच संयुक्त आपतकालीन् कोष खडा गर्न प्रस्ताव गर्नुभएको छ ।
संक्रमण विरुद्ध साझा रणनीति तय गर्न आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क आवद्ध राष्ट्र प्रमुख तथा प्रतिनिधिहरुबीचको संयुक्त भिडियो कन्फेरेन्समा प्रधानमन्त्री मोदीले संयुक्त आपतकालीन कोष स्थापनाका लागि प्रस्ताव गर्नुभएको हो ।
हरेक राष्ट्रले यसमा योगदान गर्ने र आवश्यकता अनुरुप यसलाई परिचालन गर्न सकिने भन्दै उहाँले भारतले सुरुमा १ करोड डलर राशी जम्मा गर्ने बताउनुभयो । कोभिड–१९ को प्रकोपले आन्तरिक तथा बाह्य अर्थतन्त्रमा समेत असर पार्ने भन्दै मोदीले सार्क राष्ट्रबीचको सहकार्यले मात्रै यस समस्याबाट पार पाउन सकिने बताउनुभयो । मोदीले सार्क राष्ट्रको अर्थतन्त्र मजबुत बनाउन दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
कन्फेरेन्समा सहभागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे र पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जाले भारतको प्रस्ताव स्वागतयोग्य रहेको बताएका थिए ।
सो क्रममा प्रधानमन्त्री ओलीले विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण भित्रन नदिन नेपाल सरकारले उच्च सतर्कता अपनाएको बताउनुभएको छ । स्थानीय र प्रदेश सरकारसंगको सहकार्यमा आवश्यक सावधानी अपनाएको भन्दै उहाँले यस्ता महामारीविरुद्ध जुझ्न सार्कस्तरीय आपतकालीन संयन्त्र खडा गर्नुपर्ने बताउनुभयो ।
ग्रामीण क्षेत्रमा अस्पताल तथा अनुसन्धान र उपचार सेवा विस्तार गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले औषधि तथा स्यानिटरी सामग्रीको आपूर्तिको राम्रो व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सीमा क्षेत्रमा रहेका अस्पतालहरु कोभिड–१९ को परीक्षण र उपचारका लागि संयुक्त रुपमा प्रयोग गर्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो ।
यसैबीच, कोरोना भाइरस नियन्त्रणका लागि जम्मु–कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानले भारतलाई आग्रह गरेको छ । सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा पाकिस्तानको प्रतिनिधित्व गरेका पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जाले प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको हो ।
चिकित्सक समेत रहेका स्वास्थ्यमन्त्री मिर्जाले कोरोना विरुद्धको लडाइँमा इस्लामावादमा सार्क स्वास्थ्यमन्त्री स्तरीय बैठकको प्रस्ताव समेत गर्नुभयो ।