राष्ट्रिय

कोरोना महामारी फैलन नदिन प्रदेश एक सचेत

- रेडियो कान्तिपुर संवाददाता

प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आगामी साताभित्रै एक हजार बढीको कोरोना परीक्षण गरिने बताउनुभएको छ । संघीय सरकारबाट स्वास्थ्य सामग्री प्राप्त भइसकेको र प्रदेश १ मा ल्याब समेत स्थापना भइसकेकाले अब धेरैभन्दा धेरै परीक्षण गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरसँग आज बिहान कुरा गर्दै मन्त्री कार्कीले कोरोना संक्रमणको आशंका लागेका व्यक्ति र जोखिममा परेकाहरुको पहिचान स्थानीय सरकारसँगको समन्वयमा गरिने बताउनुभयो


प्रदेशको विभिन्न भूभाग भारतसँग जोडिएको र त्यहाँबाट नेपाल छिर्ने क्रम नरोकिएको भन्दै उहाँले त्यसरी प्रवेश गर्नेलाई पनि अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको बताउनुभयो । भारत र अन्य मुलुकबाट नेपाल आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न मन्त्री कार्कीले आग्रह गर्नुभयो


प्रदेश १ को तराईका जिल्लाहरुमा खाद्यान्नको अभाव नभएपनि पहाडका केही जिल्लामा खाद्यान्न र इन्धनको अभाव कम हुन नदिन प्रदेश सरकार प्रयासरत रहेको उहाँले बताउनुभयो । बन्दाबन्दीको बेला निम्न आय भएका व्यक्तिहरुको लागि खाद्य सामग्री वितरणका लागि उद्योगी व्यवसायीहरुसँग छलफल चलिरहेको पनि मन्त्री कार्कीले उल्लेख गर्नुभयो ।