कोरोना प्रकोप : उदयपुरको भुल्के क्षेत्रलाई सिल गर्ने तयारी
- उदयपुरकोरोना भाइरसको संक्रमित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रलाई अहिले सिल गर्ने तायरी गरिएको छ । हिजो साँझदेखि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने आवत–जावत पूर्ण रुपमा प्रतिबन्ध लगाइको छ । त्यहाँको मस्जिदमा बस्दै आएका ११ भारतीय सहित १२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
१२ मध्ये एक नेपाली हुन् । लकडाउन कै अवधिमा भुल्के मस्जिदमा आएर वसेका ३४, २९, २६, २८,२८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पूरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुसँगै ४ नेपाली आएका थिए ।
उनीहरुलाई वीरगञ्जको मस्जिदमा लुकेर बसेका ३ मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमणसँगै नेपाल आएका हुन् । कोरोना पोजेटिभ देखिएका १२ जनालाई कोरोना अस्पताल विराटनगर र १ भारतीय सहित ४ जनालाई प्रदेश सरकारले निर्माण गरेको टाडीस्थित क्वारेन्टाइनमा पठाइएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनुभयो ।
भुल्के क्षेत्रलाई सिल गर्ने विषयमा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको उहाँले जानकारी दिनुभयो । मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कोरोना पोजेटिभ देखिएका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीको भनाई छ ।
भारतीयले आफूहरु मोरङ हुँदै राजविराज भएर त्यहाँ आएको वताएका छन् । उनीहरु नेपाल–भारतको जोगवनी नाका हुँदै सप्तरीको वोदेबर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको नेपाल इज्तिमा सहभागी हुन आएका हुन् । उनीहरुसँगै आएका ४ नेपाली मोरङका हुन् । ती नेपाली सुरुदेखि भारतीयहरुसँगै छन् ।