राष्ट्रिय

सिरहाको पहिलो कोरोना संक्रमण पुष्टि भएको गाउँमा स्वास्थ्यकर्मीको टोली

- भरत जर्घामगरसिरहा

सिरहाका पहिलो कोरोना संक्रमित ३० वर्षीय युवकको गाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका साउदी अरबबाट फर्किएका ३० वर्षीय युवकमा गत शनिबार संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार संक्रमित भेटिएको गाउँको अवलोकन र अवस्था बुझ्न प्रदेशबाट डा. सन्जय यादव र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. श्रीराम साह सहितको टोली आइतबार लतियाही पुगेका छन् । डा. यादव सहितको टोलीले महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालमा राखिएका संक्रमित युवकलाई भेटी सोमबार अवस्था बुझ्न लतियाही पुगेका हुन् । 

उनीहरुसँगै सखुवानन्कारकट्टी गाउँपालिकाका स्वास्थ्य प्रमुख हरि नारायण चौधरी, स्वास्थ्यकर्मीहरु राजेन्द्र यादव, कामेश्वर प्रसाद साह छन् । सखुवानन्कारकट्टी गाउँपालिकाका स्वास्थ्य प्रमुख हरि नारायण चौधरीले प्रदेशबाट आइपुगेका डा. सन्जय यादवको टोलीले वस्तुस्थिति बुझेर फर्किएको जानकारी दिनुभयो । स्थानीय स्वास्थ्यकर्मीहरुको टोलीबाट कन्टयाक्ट ट्रेसिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

कन्टयाक्ट ट्रेसिङपछि स्वाब संकलन कार्य सुरु गरिने उहाँले बताउनुभयो । गत फागुन २८ गते साउदी अरबबाट आएका ती युवकको गत बैशाख २९ गते भगवानपुर गाउँपालिकास्थित स्वास्थ्य चौकीमा स्वाब संकलन गरिएको थियो । शनिबार स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएपछि ती युवकलाई उपचारको लागि धनगढीमाई नगरपालिका–११ छपरारीस्थित महेन्द्र गेनाइ अस्थायी कोरोना अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । संक्रमित फेला परेपछि स्थानीय प्रशासनले आइतबार नै लतियाही गाउँ सिल गरेको छ । गाउँमा आउँजाउँ बन्द गरिएको छ ।

पीसीआर किट अभाव :

जिल्लामा कोरोना संक्रमण देखिएसँगै यो भाइरसको पहिचानको लागि आवश्यक पर्ने पीसीआर किट भने अभाव छ । स्वास्थ्य मन्त्रालयले एक महिना अगाडि सिरहामा पठाएको ६ सय २८ वटा पीसीआर किट क्वारेन्टाइनमा राखिएका केही शंकास्पद व्यक्ति, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको स्वाब संकलनमैं सकिएको थियो ।

तीमध्ये १० जनाको स्वाब परीक्षण रिर्पोट आउन बाँकी छ भने सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवकमा पोजिटिभ देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकमा संक्रमण देखिएपछि जनकपुरबाट २ सय ४० वटा पीसीआर किट प्राप्त भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार जुन किट संक्रमित युवकको कन्ट्याक्ट ट्रेसिंगबाट पत्ता लागेका व्यक्ति र लतियाहीबासीको परिक्षणमै सकिन सक्छ । यसबाहेक जिल्लाको विभिन्न स्थानका क्वारेन्टाइनमा अझ पनि ४ सय भन्दा बढी शंकास्पद व्यक्तिहरु बसिरहेका छन् ।

उहाँका अनुसार जिल्लाका क्वारेन्टाइनमा रहेकाहरु, भारतीय सीमावर्तीबाट आएका नेपाली नागरिक, कोरोना कहरको अवस्थामा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको स्वाब परीक्षण बाँकी नै छ । ‘किट र किटसँग सम्बन्धित प्रोटेक्टिभ मेटरियल अभाव छ’, उहाँले भन्नुभयो, ‘जसका कारण जिल्लामा टेस्ट अगाडि बढ्न सकेको छैन ।’

जिल्ला विपद व्यवस्थापन समितिले सिरहाको लागि २ हजार ५ सय थान पीसीआर किट, ५ हजार थान आरडीटी किट, २ हजार ५ सय पूर्ण सेट पीपीआर र १ हजार ५ सय थान एन ९५ मास्क तत्कालको लागि माग गरेको थियो । तर, केन्द्रबाट २ सय ४० थान पीसीआर किट, १ सय २० थान आरडीटी किट, २० थान एन ९५ मास्क तथा २० थान पूर्ण सेट पीसीआर पठाइएको छ ।

‘स्वास्थ्य सामग्रीको अभावमा हामीलाई कोरोना संक्रमणसम्बन्धी कामै गर्न गार्‍हो भइरहेको छ’, स्वास्थ्य प्रमुख यादवले भन्नुभयो, ‘हामीले नचाहँदा नचाहँदै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले समेत जोखिमता मोलेर खटिरहनु परेको छ ।’