राष्ट्रिय

डोटीमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

- मोहन शाहीडोटी

डोटीको स्थानीय क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका वडा नं. ३ स्थित क्वारेन्टिनमा बसेका १९ वर्षीय नरेश ऐरको आइतबार बिहान मृत्यु भएको हो ।

आइतबार बिहान ३ बजे उनको मृत्यु भएको दुर्गामाण्डौ गाउँपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर बोहराले जानकारी दिनुभयो । उनी लामो समय देखि मुटुका बिरामी थिए । बेला बेला मुखबाट रगत निकाल्ने, काप्ने लक्षण देखिदै आएको उनका बुबा गजै सिं ऐरले बताए । तर, मृत्युको कारण भने खुल्न सकेको छैन । 

यही जेठ २० गते भारतको दिल्लीबाट आएका उनी स्थानीय सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएका थिए । ‘१२/१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेर समेत उपचार भारतका विभिन्न अस्पतालहरुमा गरेको थिए’, मृतकका बुबा गजै सिं ऐरले भने, ‘क्वोन्टिनमा छोरालाई बिसञ्चो भएपछि भेट्न ४ बजे पुगेँ, म पुग्ने बितिक्कै छोरो बेहोस भइ ढल्यो ।’

छोरा ढलेपछि स्याहार गर्न उनी आफै क्वारेन्टाइन बस्ने सर्तमा भित्र पसेका थिए । ‘गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अली होसमा आयो’, उनले भने, ‘पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौं । तर, राति झन् च्यापे पछि शरीरमै दिशा पिशाब र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो ।’ गजै सिं ऐर पनि गएरातिबाट क्वारेन्टिनमै बसेका छन् ।