राष्ट्रिय

पाल्पामा पहिरोले पुरिएर ३ को मृत्यु, चार सवारी साधन बगायो

- माधव अर्यालपाल्पा

पाल्पाको तानसेन नगरपालिका–११, बन्दीपोखरा सम्मोबारीमा पहिरोले बगाएर सोमबार तीन जनाको मृत्यु भएको छ । तानसेन–रिडी खण्डमा पहिरोले चार वटा सवारी साधन बगाएको हो । 

पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका एक जनाको उद्दार गरी मिसन अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट घाइते भएर मिसन अस्पताल पठाइएको थियो । पहिरोमा पुरिएकाका तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन गिरीले पुष्टि गर्नुभयो । 

उहाँका अनुसार मृत्यु भएकाहरुको पहिचान हुन सकेको छैन । तीन वटै शव पाल्पा अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार पानी पर्न थालेको र अध्याँरो भएकाले उद्दारमा कठिनाइ भएको छ ।

उद्दारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पुगेका थिए । भीर भएकाले उद्दारमा केही ढिलाई भएको थियो । सदरमुकाम तानसेनदेखि ६ किलोमिटर टाढा अपराह्न पहिरो खसेको हो । लगातारको वर्षाले सोमबार बिहानैदेखि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको थियो ।

डोजरले पहिरो पन्छाई रहँदा पश्चिमतर्फ जाने पर्खाइमा रहेका सवारी साधनलाई पहिरोले बगाएको प्रत्यक्षदर्शी दीपक खड्काले बताए । उनका अनुसार अचानक पहिरो खस्दा धेरै यात्रु भागेर बाँचेका थिए । 

केही सवारी साधन तत्काल पछाडि हटाउन सफल भएका थिए । ‘पहिरो झरेको स्थानमा पहिला पनि खसेको थियो,’ उनले भने, ‘डोजरले पन्छाएर गएकाले सवारी साधन डोजरकै पछिपछि थिए ।’

पहिरो झण्डै दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकि राखेको ट्रक, ठूलो पानी ट्याङकर, एक जिप, एक कार पुरिएका हुन् । सामानले भरिएको ट्रक भीरमै अड्किएको छ । एउटा ठूलो पानी ट्याङ्कर ५ सय मिटर तल पुगेको छ । एउटा बोलेरो सडक छेउमा अड्किएको छ । कार भने सडकमै पुरिएको अवस्था छ ।

सवारी साधन अगाडी जाने पर्खाइमा भएकाले मृतक पहिरो पार गर्दै गरेका हुन सक्ने स्थानीयले बताए । ‘सवारी साधनका चालक पनि हुन सक्छ’ घटनास्थलमै पुगेका प्रहरी नायब उपरिक्षक गिरीले भन्नुभयो, ‘मृतकको पहिचान अझै भै सकेको छैन ।’ उहाँका अनुसार राति र बिहानसम्म सबैको खोजी हुने र पहिचान खुल्नेछ ।

‘हामी सवारी साधन कतिबेला खुल्ला भन्ने पखाईमा थियो,’ प्रत्यक्षदर्शी विनोद श्रेष्ठले भने, ‘एक जनाले पहिरो आयो भनेपछि सवारी साधन नै बगायो ।’ जोगेपानी, सम्मोबारी लगायत स्थानमा बिहान पनि दर्जन बढी स्थानमा पहिरो खसेको थियो । सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन भएको छैन । ठूलो भीर भएकाले उद्दारमा समेत कठिनाई भएको थियो ।