राष्ट्रिय

दाहाल सहितका शीर्ष नेताहरु शितल निवासमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

पार्टीभित्र शक्ति संघर्ष र अन्तरविरोध चर्किरहेका बेला सत्तारुढ नेकपाका नेताहरु बिहानै बाट सक्रिय भएका छन् । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्ष आन्तरिक छलफलमा जुटेका छन् । स्थायी समितिको भोली बस्ने बैठक अघि दोस्रो तहका नेता सहितको छलफल शुरु भएको हो ।

यो बीचमा पार्टी अध्यक्ष दाहाल सहित सचिवालयका बहुमत सदस्य राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शित्तल निवास पुगेका छन् । अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले राष्ट्रपतिसँग भेटवार्ता गरिरहेका हुन् । 

पार्टी भित्रको विवादमा राष्ट्रपति समेत मुछिएको र प्रधानमन्त्री एवं अध्यक्ष ओलीले राष्ट्रपतिलाई महाअभियोग र आफुलाई दुवै पदबाट हटाउने षडयन्त्र गरेको आरोप लागिरहेका बेला दाहाल सहितका नेताहरु राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।

यसैबीच दाहाल र प्रधानमन्त्री ओलीबीच सहमतिको प्रयास स्वरुप आजपनि भेटवार्ता हुदैछ । पार्टीभित्र चर्किएको शक्ति संघर्ष र अन्तरविरोध कम गर्न अध्यक्षद्वयबीच छलफल हुन लागेको हो । दुई अध्यक्षबीच भेटबार्ता तय भएपनि समय भने निश्चित भईनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहालको सचिवालयले पनि प्रधानमन्त्रीसंग आज भेटवार्ता हुने जनाएको छ ।

करिव करिव फुटको अवस्थामा पुगेको पार्टीमा सहमतिका लागि दोस्रो तहका नेताहरुले अधिकतम प्रयास गरेपनि सफल हुन सकेको छैन । यधपी आज पनि प्रयास जारी राखिने नेताहरुको भनाई छ । पार्टी एकता कायम राख्न दबाब स्वरुप केही केन्द्रिय सदस्यले भने हस्ताक्षर अभियान सञ्चालनको तयारी गरेका छन् ।