बेनी जोड्ने सवै सडक अवरुद्ध
- म्याग्दीम्याग्दी सदरमुकाम बेनीबाट छुट्ने सवै सडकमा साना–ठूला पहिरो झरेकोले यातायात पुरै ठप्प भएको छ । काठमाडौं, पोखरासहित बिभिन्न स्थान जोड्ने बेनी–मालढुङ्गा सडकको जलजला गाउँपालिकाको वारीवेनी र बेनी–बाग्लुङ सडकमा पर्ने बेनी नगरपालिकाको रत्नेचौरमा पनि पहिरो झरेको छ ।
त्यसैगरी बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिकाको चमेरे, अन्नपूर्ण गाउँपालिकाको भुरुङ र दानाका विभिन्न खण्डमा पहिरो झरेको छ । बेनीबाट पश्चिम दरवाङ जाने सडकको बेनीनगरपालिकाको डम्बरा र सिङ्गामा पनि पहिरो झरेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रातभर पानी परेकाले ग्रामिण क्षेत्रका सडकको अवस्था समेत उच्च जोखिममा परेको जिल्ला प्रहरी प्रमुख किरण कुँवरले बताउनुभयो । अवरुद्ध सडक खुलाउने पहल सुरु भएपनि पानी पर्ने क्रम नरोकिएकाले समस्या भएको उहाँको भनाई थियो ।