राष्ट्रिय

पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि

- हरिराम उप्रेतीगोरखा

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७ वर्षीय ती युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले बताउनुभयो । 

अस्पतालमा भर्ना भए लगत्तै उनको स्वाबको नमूना संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो । उपचाररत युवकको हिजो राति मृत्यु भएको उहाँले बताउनुभयो । कोरोना संक्रमित ती युवकको शव ब्यवस्थापनको प्रक्रिया पनि सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

भिमसेन थापा गाउँपालिका–२ का ती युवाले शनिबार झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए । छिमेकीले देखेपछि उनको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लगेकोमा त्यहाँबाट थप उपचारका लागि पाटन अस्पताल रेफर गरिएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताउनुभयो ।

ती युवामा यसअघि भने कोरोनासँग भिल्दो जुल्दो कुनै लक्षण नदेखिएको उहाँको भनाइ छ । ती युवाको रिपोर्ट प्राप्त भएपछि कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको काम अघि बढाउने स्वास्थ्य शाखाको तयारी छ ।