राष्ट्रिय

बहसलाई सडकमा ल्याउनु पार्टी आचरणभित्र पर्दैन : युवा विद्यार्थी

- सन्जु पौडेलरुपन्देही

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका युवा तथा विद्यार्थीले पार्टी केन्द्रमा देखिएको विवादलाई आन्तरिक छलफलबाटैं निरुपण गर्न नेतृत्वलाई आग्रह गरेको छन् । युवा तथा विद्यार्थीले बिहीबार नेकपा ५ प्रदेश कमिटीलाई ज्ञापन पत्र बुझाउँदै आन्तरिक विवाद छलफलबाटैं निरुपण गर्न नेतृत्वलाई आग्रह गरेका हुन् । 

स्थायी कमिटीको बैठक चलिरहँदा एउटा जीवन्त पार्टीमा हुने बहसलाई अतिरन्जित बनाउँदै सडकमा उत्रिएर पक्ष र विपक्षमा देखाउनु, पार्टीका नेतालाई अवाञ्छित लालच्छना लगाउनु कम्युनिष्ट पार्टीको आचरणभित्र नपर्ने स्पष्ट पारेका हुन् ।

प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकाल मार्फत् प्रदेश कमिटीलाई बुझाइएको ज्ञापनपत्रमा युवा तथा विद्यार्थीले यस्ता गतिविधि रोक्न नेतृत्वलाई आग्रह गरेका छन् । नेकपा कमजोर हुँदा राष्ट्रियता कमजोर हुने र स्वदेशी–विदेशी प्रतिक्रियावादीहरुको उद्देश्य पूरा हुने जनाउँदै उनीहरुले ज्ञापनपत्रमा पार्टीको आन्तरिक जीवनका छलफललाई लेलिनवादी संगठनात्मक पद्दति मार्फत् हल गर्नु पंक्तिको दायित्व रहेको बताएका छन् ।

ज्ञानप पत्रमा भनिएको छ, ‘यो दायित्वबाट नेकपाको नेता तथा कार्यकर्ता कोही पनि वञ्चित हुन पाउँदैन । छलफलमा आएका विषयहरुलाई कमिटीगत प्रणालीबाटै हल गरी पार्टीलाई थप एकताबद्ध पार्दै आम जनताको चासोलाई सम्बोधन गर्नको लागि युवा तथा विद्यार्थी जोडदार माग गर्दछौं ।’

तीन सय बढी युवा तथा विद्यार्थीको हस्ताक्षर सहित ज्ञापनपत्र बुझाउने कार्यक्रममा युवा नेता राजु गुरुङ, युवा संघका केन्द्रीय सदस्य जीतेन्द्र पुन, सरिता श्रीस, जिल्ला संयोजक कृष्ण थापा लगायतको सहभागिता रहेको थियो ।