दाङ हुँदै सलह पस्यो
- काठमाडौं– भारतको बहराइचबाट दाङ हुँदै सलहको एउटा झुण्ड नेपाल प्रवेश गरेको छ । दाङको गढवामा केही बेर बसेर सो झुण्ड उडेर पूर्व उत्तरतर्फ मोडिएर गएको सलह सूचना केन्द्र प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार स्थानीय स्तरमा गाउँपालिका र नगरपालिकालाई सलह प्रवेश गरेका बारेमा जानकारी गराइसकिएको छ । अहिले वर्षा जारी रहेकाले खेताीपातीमा खासै नोक्सानी नगर्ने उहाँको भनाई छ । यद्यपि भोलि घाम लागे सो झुण्ड सक्रिय हुन सक्ने उहाँले बताउनुभयो ।
यसअघि रुपन्देही हुँदै सलहका ५,६ वटा झण्ड नेपाल प्रवेश गरेका थिए । ती झण्ड प्रदेश ५ मा मात्रै सीमित हुँदा अन्नबाली खासै नोकसान हुन नपाएको विज्ञ सुवेदीले बताउनुभयो । भोलि जनकपुर हुँदै सलहका झुण्ड नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेको उहाँको भनाई छ । यस्तै पर्सी रुपन्देही र कपिलवस्तु हुँदै सलहका झुण्ड नेपाल पस्ने सम्भावना बढी रहेको उहाँको भनाई छ । तराई हुँदै प्रवेश गरेका सलहका झुण्डले नोक्सानी भने गर्न नपाउने विज्ञले बताएका छन् ।
यतिबेला तराईमा धान बाली लगाउने सिजन भएकाले पनि लाखौंको संख्यामा सलह प्रवेश गरेको र यसले धान र मकै बालीमा क्षति पुर्याएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । ठाउँठाउँमा किसानहरुलाई खबर गरेको र कृषिको टोली सलह भएको क्षेत्रमा पुगेर आवश्यक सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । सलहले पुर्याएको क्षतिबारे जानकारी संकलन पनि भैरहेको सुवेदीको भनाई छ ।