राष्ट्रिय

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

- माधव अर्यालपाल्पा

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान बजार नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दोभान बजारदेखि सय मिटर नजिकै पहिरो खसेको हो । पहिरोसँगै बिजुलीको पोलसमेट ढलेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए ।

झण्डै ५० मिटर माथिदेखि पहिरो खसेको छ । सोमबार बेलुकी सवा ५ बजेतिर खसेको पहिरो ठूलो भएकाले सडक खुल्न केही समय लाग्ने दोभान प्रहरी चौकीका प्रमुख सोमबहादुर सारु मगरले बताउनुभयो । 

उहाँका अनुसार पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ । डोजर स्ट्याण्डबाइ रहेपनि राति काम गर्न नसक्ने भएकाले पहिरो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । रुपन्देही र पाल्पा तर्फबाट गएका सवारी साधन दोभान, भुतखोलातर्फ नै रोकिएको छ । रुपन्देहीतर्फबाट आएका सवारी साधन सिद्धबाबामै रोकिएको छ ।


लसुने–खोकखोलामा ठूलो पहिरो :

सिद्धार्थ राजमार्गको लहसुनेबाट खोकखोला (रम्भा गाउँपालिका केन्द्र) जाने सडकमा ठूलो पहिरो खसेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार झण्डै सय मिटर लम्बाई र ५० मिटर जति चौडाइभा पहिरो खसेपछि तीन दिनदेखि सवारी साधन चल्न सकेको छैन । पहिरो खस्दा खोकखोला, अगाहाखोला, लगायतका स्थानमा जाने सवारी साधन रोकिएका छन् । पैदल यात्रुलाई समेत समस्या छ ।