राष्ट्रिय

सेनाको श्रमदानमा सत्तल र ढुङ्गेधारा निर्माण

- लीला श्रेष्ठभक्तपुर

नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा सत्तल र ढुङ्गेधारा निर्माण गरेको छ । 

सेनाको श्रमदानमा निर्मित सत्तल र ढुङ्गेधारा मन्दिर संरक्षण तथा विकास समितिलाई हस्तान्तरण गरेको छ । 

वीर दल गणका प्रमुख सेनानी शिवप्रसाद पौडेलले नेपाली सेनाका प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन–२०७५ बमोजिम नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ गर्ने उद्देश्यले डोलेश्वर मन्दिर परिसरमा विष्णु पादुका क्षेत्र निर्माण गरिएको बताउनुभयो । 

सो सत्तल तथा ढुङ्गेधारा निर्माणका लागि १ हजार ८ सय ६० जना नेपाल सेनाको श्रमदान रहेको उहाँले बताउनुभयो । सत्तल, ढुङ्गेधारा, भक्तजनको वस्त्र परिवर्तन स्थल, पर्खाल, फलामे पुल, हवन घर र मठ निर्माणका लागि २४ लाख ८० हजार २१० रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । 

सो सत्तल, ढुङ्गेधाराको प्रतिनिधिसभा सदस्य महेश बस्नेत र प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभयो ।