राष्ट्रिय

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड एकतर्फी खुल्यो

- रुमाधव अर्यालपाल्पा

सिद्धार्थ राजमार्गको ठाउँठाउँमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा, कदमबास, पैठेडाँडा, ड्याम साइड, गौडे पुलमा पहिरो खसेको थियो । 

तल्लो र माथिल्लो सिद्धबाबाको बीच कदमबासमा खसेको पहिरोले बिजुलीको पोल समेत बगाएको छ । दोभानका विष्णुप्रसाद पाण्डेयका अनुसार बिजुलीको पोल समेत ढलेकाले दोभान क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

राजमार्गकै बगनासकाली गाउँपालिका–४, सेरामा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ५ बजेदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो । अपराह्न ३ बजेबाट एकतर्फी यातायात सञ्चालन भएको प्रहरी नायव उपरिक्षक मदन गिरीले बताउनुभयो । उहाँका अनुसार दुई तर्फी यातायात सञ्चालनका लागि पहल भइरहेको छ ।

वर्षा रोकिएपछि सडक डिभिजन कार्यालयको समन्वयमा दुई तर्फबाट डोजर, लोडर लगाएर पहिरो पन्छाएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि पाल्पादेखि स्याङ्जा–पोखरा र पाल्पा–बुटवल सडकमा सवारी साधन सञ्चालन भएको थिएन ।

झण्डै १० घण्टापछि सवारी साधन गन्तव्यमा जान पाएका छन् । सिद्धार्थ राजमार्ग दैनिकजसो अवरुद्ध हुने र खुल्ने भइरहेको छ । सिद्धार्थ राजमार्ग भएर तराईबाट पहाडका म्याग्दी, बाग्लुङसम्मका यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।