उदयपुरको कटारी बजार अनिश्चितकालका लागि बन्द
- उदयपुरउदयपुरको कटारी बजार अनिश्चितकालका लागि बन्द गरिएको छ । समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढेपछि आजबाट कटारी नगरपालिकको कटारी बजार बन्द गरिएको हो ।
कटारी नगरपालिकासँग जोडिएको ताप्ली गाउँपालिका–२ लेखगाउँकी ४३ वर्षीया महिलामा सोमबार कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङ्गमा कटारी बजारको एक स्वास्थ्य संस्थामा उपचार गरेको पाइएको थियो ।
उपचार गर्ने क्रममा त्यहाँका चिकित्स, स्वास्थ्यकर्मी र अन्य सहयोगी समेत ती महिलाको सम्र्पकमा रहेको पाइएपछि बजार बन्द गर्ने निर्णय गरिएको नरपालिकाले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिला शुक्रबार कटारी मोडल हेल्थ केयर प्रालिमा उपचारका लागि गएकी थिइन् ।
झण्डै ८ घण्टा हेल्थ केयरमा उपचारपछि उनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको हेल्थ केयरका सञ्चालक डा. गणेशलाल दासले बताउनुभयो । विराटनगरस्थित कोशी प्रदेशिक अस्पतालमा उपचारको क्रममा ती महिलाको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।
ती महिलालाई अहिले विराटनगस्थित कोभिड–१९ अस्पतालको आइसोलेशनामा सेन्टरमा भर्ना गरिएको छ । सबै स्वास्थ्य सुरक्षा अपनाएर ती महिलाको उपचार गरी डा. दासले बताउनुभयो । सुरक्षा अपनाए पनि उपचार गर्न आएकी महिलामा कोरोना संक्रमण देखिएपछि हेल्थ केयर प्रालि बन्द गरेर आफू र कर्मचारी सेल्फ क्वारेन्टिनमा उहाँले जानकारी दिनुभयो ।
हेल्थ केयरमा उपचार गरिएकी महिला कोरोना सक्रमण भएपछि थप सक्रमण हुन नदिन बजार बन्द गरिएको नगर प्रमुख ज्ञानेन्द श्रेष्ठले बताउनुभयो । संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङ्गमा आएकाहरुको पीसीआर परीक्षण गरिने र नतिजा नआएसम्म कटारी बजारमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
कटारी बजारमा अत्यावश्यक कामका लागि पनि अनिवार्य मास्क प्रयोग गर्न र नगरवासीलाई सचेत रहन निरन्तर माइकिङ गरिरहेको र अनुगमन समेत गरिएको छ । नगरपालिकाले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम न्यूनिकरणका लागि अत्यावश्यक काम बाहेक व्यापार व्यवसाय, सवारी, कार्यालय, होटल व्यवसाय सबै क्षेत्र बन्द गरिएको सार्वजनिक सूचना समेत जारी गरिएको छ । नगरपालिकाले कोरोना नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न नगरवासीलाई आग्रह गरेको नगर उपप्रमुख भीम कुमारी राउतले बताउनुभयो ।