रुकुमकोटमा दुई साताका लागि निषेधाज्ञा जारी
- रुकुम पूर्वरुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । शनिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै दुई हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
शनिबार मध्यराति १२ बजेबाट लागू हुने निषेधाज्ञा आगामी असोज ५ गते राति १२ बजेसम्म जारी रहनेछ । अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिकाको ५ र ६ नम्बर वडाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।
उहाँका अनुसार हरेक दिन दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खुल्ने छन् । अत्यावश्क सेवाका सवारी साधन, सरकारी नम्बर प्लेटका सवारी साधन, कर्मचारीले प्रयोग गर्ने सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राईले जनाकारी दिनुभयो ।
शुक्रबार मात्रै यी २ वडामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालयका ४ जना प्रहरी, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, एक होटल व्यवसायी महिला र क्वारेन्टिनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यी ११ जनासँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । २५ जना यसअघि नै संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।