राष्ट्रिय

दुई सेट रेल आज नेपाल आईपुग्दै

- प्रकाश पाठकअजित तिवारीकाठमाडौं

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आज नेपाल आईपुग्ने भएको छ । भारतको बिहारस्थित हाजिपुरमा पार्किङ गरिएका रेल मध्यान्ह १२ बजे जनकपुर आईपुग्ने रेल विभागले जनाएको छ । 

हिजो साँझ जयनगर आईपुगेका रेलका दुबै सेट बुझ्न विभागको उच्चस्तरीय टोली जनकपुर जाँदैछ । विभागका महानिर्देशक बलराम मिश्रसहितको टोलीले रेल बुझ्नेछ । दुबै रेललाई सुरुवाती केही दिन ट्रायल गराईने विभागले जनाएको छ । 

रेलसंगै भारतबाट कोंकण रेलवेजको टिम पनि जनकपुर आउनेछ । उतैको प्राबिधिक टोलीले गुडाउदै नेपाल ल्याएर रेल नेपाललाई हस्तान्तरण गर्नेछन् । रेलवे विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसंग रेलको दुई सेट खरिद गरेको हो ।

नेपाल रेलवेका जनकपुर साइटका इन्जिनियर विनोद ओझाले भारतको जयनगरबाट नेपाल प्रवेश गर्ने रेलको दुवै सेट जनकपुर आएर फेरि जयनगर नै फर्किने बताउनुभयो । उहाँका अनुसार जनकपुरको प्लेटफर्मसम्म आएर जयनगर फर्किने रेलका दुवै सेटलाई कहाँ पार्किङ गर्ने भन्ने निधो हुनै बाँकी छ । जयनगर, इनर्वा, खजुरी र कुर्थासमेत चार ठाउामा पार्किङ स्थल रहेकाले प्राविधिकले उपयुक्त ठहर गरेको स्थानमा पार्किङ गरिने उहाँले बताउनुभयो ।

रेल विभागले सम्पुर्ण व्यवस्थापनको काम सकेर एक महिनाभित्रै नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ । भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाक तयार भएको हो । नेपाल आउन लागेका रेल डिजेल र विद्युत् दुवैबाट चल्नेछन् । रेलको एउटा सेटमा इन्जिनसहित ५ वटा बोगी छ । 

चारवटा बोगीमध्ये एउटा एसी कोच र ३ वटा जेनरल बोगी हो । एउटा सेटमा भने इन्जिन बोगीमा पनि यात्रु राख्न मिल्ने सिट छ । इन्जिन रहेको डिब्बालाई भने नेपालको राष्ट्रिय झन्डाको रङ रातो र नीलो रङले पोतिएको छ । इन्जिनियर ओझाका अनुसार बोगीमा १ हजार ३ सय यात्रु अट्ने क्षमताको छ ।