राष्ट्रिय

ताप्लेजुङमा कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी

- आनन्द गौतमताप्लेजुङ

कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रशासानले ताप्लेजुङमा दुई साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्ले सोमबार आजबाट लागू हुने गरी आगामी १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । 

कोरोना संक्रमण भएपछि एक सातादेखि जिल्ला प्रशासन कार्यालय भवनमा आइसोलेसनमा बसेका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले निषेधाज्ञा जारी गर्दै साँझ ८ देखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न, बजार पसल खोल्न र लामो दूरी बाहेकका यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।

सोमबार दिउँसो जारी आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० बमोजिम निशेधाज्ञा जारी गरिएको उल्लेख छ । कोभिड–१९ को महामारीका कारण यो वर्ष दशैं, तिहार, छठ जस्ता चाडपर्वमा भेला भई पूजापाठ गर्ने भजनकिर्तन गर्ने अवस्था नभएकाले सामूहिक रुपमा कुनै गतिविधि नगर्न प्रशासनले सर्वसनधारणमा अग्रह गरेको छ ।

सामूहिक रुपमा भेलाभई शुभकामना आदानप्रदान, चियापान, शिलान्यास, उद्धघाटन, प्रशिक्षण, सभा–सम्मेलन र बलि पूजा, मूति बिसर्जन जस्ता कार्यपनि नगर्न/नगराउन पनि आदेश दिइएको छ । आदेश उल्लंघन गर्नेलाई कानून अनुसार कारबाही हुने उल्लेख छ । 

पाथीभरा आउने तीर्थयात्री नरोकिइरहेको बेला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको हो । कोरोना संक्रमण भएपछि प्रजिअ एक सातादेखि आइसोलेसनमा छन् । प्रजिअ र फक्ताङलुङ गाउँपालिकाका एक युवागरी जिल्लामा अहिले दुई जना संक्रमित रहेका छन् ।