धनकुटामा एघार करोडको एभोकाडोको बेर्ना बिक्रि
- धनकुटाएभोकाडोको राजधानी घोषणा गरिएको धनकुटामा पछिल्लो समय कृषकहरु बेर्ना उत्पादनतर्फ आकर्षित भएका छन् । एभोकाडो फलको तुलनामा बेर्नाको बिक्रि उल्लेख्य रहेको छ ।
यस वर्ष एघार करोड बढीको बेर्ना बिक्रि भएको धनकुटा नगरपालिकाका कृषि विज्ञ जीवन राईले जानकारी दिनुभयो । यो अघिल्लो बर्षको तुलनामा चार करोडले बढि हो । अघिल्लो वर्ष ७ करोड २६ लाख मुल्यको नर्सरी कारोवार भएको थियो ।
यो बर्ष जिल्लाबाट ४ करोड २६ लाख बराबरको फल बिक्रि भएको छ । जिल्लामा पाँच वर्ष पहिलेसम्म एभोकार्डोको व्यवशायिक खेति न्युन थियो । तर, धनकुटा नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गरेसंगै यसतर्फको आकर्षण बढेको नगर प्रमुख चिन्तन तामाङको दावी छ ।
दुई वर्ष पहिलेसम्म ५ वटा दर्ता भएका नर्सरी रहेकोमा हाल ५५ वटा दर्ता छन् । त्यस वाहेक अन्य कयौं दर्ता नभएका नर्सरी पनि रहेका छन् । जिल्लामा दुई वर्ष पहिले १ हजार ९ सय ६२ परिवारले एभोकाडो खेति गर्दै आएकोमा यस वर्षसम्म ६ हजार ७ सय पुगिसकेको छ । यस्तै, २०२ हेक्टरबाट बढेर १ हजार ३ सय बढि हेक्टरमा एभोकाडो खेति बिस्तार भइसकेको छ ।
धनकुटाको एभोकाडोको माग पाल्पा, भोजपुर, तनहँु, स्याङजा, लमजुङ, चितवन, कास्की, गोर्खा लगायत जिल्लाबाट अत्यधिक छ । बजारको अभाव नभएकाले आफु यसतर्फ लागेको स्थानीय नर्सरी व्यवशायी भरत गुरागाईको भनाई छ ।