राष्ट्रिय

काठमाण्डौं उपत्यकाका अधिकांश सामुदायिक विद्यालय खुले

- केएफएम डेस्ककाठमाडौं

काठमाण्डौं उपत्यकाका अधिकांश सामुदायिक विद्यालय आजबाट खुलेका छन् । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय, डिल्लीबजारस्थित वियज स्मारक, कन्या माध्यमिक, पद्मोदय माध्यमिक विद्यालय, असनस्थित त्यौड मावि लगायतका विद्यालयमा पठनपाठन शुरु भएको हो । विश्व निकेतनले बाल कक्षादेखि कक्षा ५ सम्म र कक्षा ११, १२ को भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेको जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक हेरम्ब राज कँडेलले तल्ला तहका विद्यार्थीको प्रत्यक्ष निगरानी गर्न सकिने र कक्षा ११,१२ विद्यार्थी आफैंले स्वास्थ्य मापदण्ड अपनाउन सक्ने भएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेको बताउनुभयो । कक्षा ६ देखि १० सम्म विद्यार्थी संख्या बढी रहेकाले परिस्थिति हेरेर केही दिनमा कक्षा सञ्चालन गर्ने उहाँको भनाई थियो । 

यस्तै डिल्लीबजारस्थित विजय स्मारक माविले भने बाल विकास देखि कक्षा १० सम्मको पठनपाठन भौतिक उपस्थितिमै शुरु गरेको छ । विजय स्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सिफ्ट वाइज आजबाट पठनपाठन शुरु गरेको बताउनुभयो । यसअघि सो विद्यालयले मंसीर ९ देखि कक्षा १२ को परीक्षा सञ्चालन गरेर पुष २४ गते देखि कक्षा ११ को परीक्षा पनि सञ्चालन गरेको थियो । महानगरको शिक्षा विभागले माघबाट काठमाण्डौं उपत्यकाका विद्यालयहरु सञ्चालन गर्न सकिने संकेत गरेपछि स्रोत केन्द्र स्तरको बैठक बसेर विद्यालय सञ्चालन गरेको प्रधानाध्यापक शर्माको भनाई छ । 

अनलाइन कक्षाले विद्यार्थी शिक्षाको मूल प्रवाहमा नसमेटिएको भन्दै विद्यालयहरु खुल्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत कात्तिक २० गते विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा जारी गरेपछि कोरोना भाइरस संक्रमणको जोखिम कम रहेका स्थानका विद्यालयले कक्षा सञ्चालन गरिसकेका छन् । काठमाण्डौं उपत्यकाका अधिकांश संस्थागत विद्यालयले पनि स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गरिसकेका छन् ।