गढीदेखि गढीसम्म साईकल यात्रा सुरु
-आन्तरिक पर्यटन प्रवर्धन र ऐतिहासिक गढीको संरक्षण गर्ने उद्देश्यले मकवानपुरगढीदेखि सिन्धुलीगढीसम्म साईकल यात्रा सुरु गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आज मकवानपुरगढीमा साईकल यात्री पुस्कर शाहलाई साईकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साईकल यात्राको शुभारम्भ गर्नुभयो ।
बागमती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संंयोजकत्वमा गढीदेखि गढीसम्मको साईकल यात्रा आयोजना गरिएको हो ।
मन्त्रालय, गढी गाउँपालिका, बाटोमा पर्ने स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, राईडर्स क्लब, साईकल संघ र पर्वतीय खेलकुद महासंघको साझेदारीमा आयोजित सो साईकल यात्राको धरान–चतरा अन्तर्गत पर्ने हेटौंडा–फापरवारीको सडक हुँदै आज बेलुका सिन्धुलीको हरिहरपुरगढी पुगेर बाँस बस्ने मन्त्रालयका सचिव सिन्धुनाथ ढुंगानाले बताउनुभयो ।
आइतबार साईकल यात्री सिन्धुलीगढी पुगेर आफ्नो यात्रा समापन गरिने उहाँले जानकारी दिनुभयो । साइकल यात्री पुस्कर शाहको अगुवाईमा ३ महिलासहित १ सय २२ जना साईकल यात्रीले मकवानपुरगढीबाट यात्रा सुरु गरेको मन्त्रालय उपसचिव नवराज पुडासैनीले बताउनुभयो ।
मकवानपुरगढीबाट सिन्धुलीगढी १ सय ३१ किलोमिटर रहेको छ । आन्तरिक पर्यटन प्रवर्धन गर्न, गढीको पहिचान र संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले गढीदेखि गढीसम्मको साईकल यात्रा सुरु गरिएको मन्त्रालयका सचिव ढुंगानाले बताउनुभयो ।
मन्त्रालयले सो कार्यलाई बिस्तार सहित निरन्तरता दिने उहाँको भनाई छ । साईकल यात्राका लागि साढे ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।