राष्ट्रिय

पर्सामा कोरोना संक्रमण उच्च, कोभिड अस्पताल सञ्चालनको तयारी

- शंकर आचार्यपर्सा

पर्सामा कोरोना भाइरस संक्रमण उच्च भएको भन्दै जिल्ला विपद व्यवस्थापन समितिले कोभिड अस्पताल सञ्चालनको तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजकत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार, बैठकले नेशनल मेडिकल कलेजले विगतमा स्थानीय बाबा होटेलमा सञ्चालन गरेको कोभिड अस्पताल पुन: सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्राललाई अनुरोध गर्ने निर्णय गरेको छ । 

समितिको बैठकले वीरगञ्जस्थित नारायणी अस्पतालमा कोभिड संक्रमितका लागि आइसीयूर/एचडीयू युनिट अविलम्ब सञ्चालन गरी तयारी अवस्थामा राख्न निर्देशन दिने निर्णय गरेको छ । बैठकले जिल्लाका निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिने निर्णय गरेको छ । 

सर्वसाधारणले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरे/नगरेको अनुगमन गर्न सहायक प्रजिअ पौडेलको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । सीमा नाकालाई व्यवस्थित गर्दै भारत तथा तेश्रो मुलुकबाट नेपाल प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा मास्क लगाउन तथा सीमामै ज्वरो मापनको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । 

भारत तथा तेश्रो मुलुकबाट आएकालाई १० दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गर्ने र त्यसको व्यवस्थापन सम्बन्धित स्थानीय तहका वडा कार्यालयहरुले गर्ने निर्णय समेत बैठकले गरेको छ । विदेशबाट आएका संक्रमितहरुले होटल क्वारेन्टिनमा बस्न चाहे त्यसका लागि होटेलको व्यवस्था गर्न होटेल व्यवसायीसँग समन्वय तथा सहकार्य गर्ने निर्णय समेत बैठकले गरेको छ । 

घर बाहिर सार्वजनिक स्थलमा निस्केकाहरुले स्वास्थ्य मापदण्ड पालना नगरे संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्ने, सार्वजनिक स्थलहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गराउने, रात्रिकालिन व्यवसायलाई राति ९ बजे अनिवार्य रुपमा बन्द गराउने, २ वटा एम्बुलेन्स तथा एक शव वाहनलाई आइतबारबाटै तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेर सहायम प्रजिअ पौडेलले जानकारी दिनुभयो ।