राष्ट्रिय

इटहरीमा ५० शय्याको आइसोलेशन केन्द्र सञ्चालन गरिने

- प्रदीप मेन्याङ्बो सुनसरी

सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमित राख्नका लागि ५० शय्याको आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएको छ । बुधबार बसेको उपमहानगर कार्यपालिकाको आकस्मिक बैठकले इटहरी रंगशालामा ५० शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 

इटहरीमा कोरोना संक्रमितको संख्या पछिल्लो दुई साता यता ८० जना पुगेको छ भने २ जनाको मृत्यु भईसकेको छ । उपमहानगरको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलका अनुसार इटहरी रंगशालामा यसअघि कै आइसोलेशन केन्द्रमा भएको संरचनालाई प्रयोग गरी पुन: आइसोलेसन सञ्चालन गर्ने निर्णय भएको छ । 

आइसोलेशन केन्द्रमा आपत्तकालका लागि भनेर १० थान अक्सिजन सिलिण्डरको पनि व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । यसैबीच, इटहरी उपमहानगरपालिकाका राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कर्मचारीमा संक्रमण देखिएपछि ५ दिनका लागि राजश्व शाखा बन्द गरिको छ । शाखा प्रमुख नवीन भट्टराईका अनुसार बैशाख १५ गतेदेखि पाँचदिनसम्म राजश्व प्रशासन शाखाबाट हुने कर लगायत सबै सेवा बन्द गरिएको हो ।