राष्ट्रिय

राष्ट्रिय सभा सदस्यमा तीन जनाको मनोनयन दर्ता

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय सभा सदस्यमा वागमती प्रदेशबाट रिक्त एक पदका लागि तीन जनाको मनोनयन दर्ता भएको छ । एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, एमाले कै नेपाल समूहसहित विपक्षी मोर्चाका तर्फबाट डा. खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका हुन् । 

वागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तीनै जनाले मनोनयन दर्ता गराएका हुन् । गृहमन्त्री थापाको मनोनयनलाई वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले समर्थन गर्नुभएको छ । यस्तै देवकोटाको मनोनयनलाई माओवादी केन्द्र वागमती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रस्ताव गर्दा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घलेले समर्थन गर्नुभएको छ । देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले कै माधव नेपाल समूहले साथ दिने जनाएको छ । 

नेमकिपाका तामाङको प्रस्तावकमा वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु हुनुहुन्छ । राष्ट्रिय सभामा वागमती प्रदेशको अन्य समूहबाट निर्वाचित थापाले आफू निर्वाचित भएको दल माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सो स्थान खाली भएको थियो । सोही पदका लागि निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो । राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । आसन्न उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयले मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । प्रदेश सभाका एक सय १० र स्थानीय तहका प्रमुख र उपप्रमख गरी दुई सय ३८ जना मतदाता छन् । प्रदेश सभाको सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तोकिएको छ ।