राष्ट्रिय

भोजपुरको होल्डिङ सेन्टर प्रयोगविहीन

- शाहीमान राईभोजपुर

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भोजपुरको जरायोटारमा निर्मित होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । गतवर्ष अरुण गाउँपालिका–५ जरायोटारस्थित सिक्रेटारमा खाद्यान्न, खानेपानी, शौचालय, बाथरुम सहितको होल्डिङ सेन्टर निर्माण गरिएको थियो । 

जिल्लाको ९ वटा स्थानीय तहको संयुक्त लगानीमा निर्मित ८० बेडको होल्डिङ सेन्टर व्यवस्थापनको समस्याले उपयोग हुन नसकेको हो । गतवर्ष भारत लगायत तेश्रो मुलुक तथा देशकै विभिन्न ठाउँबाट जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टिनमा राख्नको लागि भोजपुरको स्थानीय तहले ३८ लाख ५० हजार रुपैंयाँ लगानीमा होल्डिङ सेन्टर निर्माण गरेको थियो । 

गतवर्ष भोजपुर प्रवेश गर्नेलाई एकद्वार नीति अनुरुप अरुण गाउँपालिकाले व्यावस्थापन गर्ने गरी अरुण, पौवादुङमा, हतुवागढी, आमचोक, टेम्के मैयुङ, साल्पा शिलिछो, रामप्रशाद राई गाउँपालिका, भोजपुर र षडानन्द नगरपालिकाको संयुक्त लगानीमा होल्डिङ सेन्टर निर्माण गरिएको हो । उचित व्यवस्थापनको अभावले ती होल्डिङ सेन्टर अहिले प्रयोगविहीन भएको हो ।

गतवर्ष लकडाउनको अवधिमा भारत लगायत तेश्रो मुलुकबाट आएका १२ सय जना होल्डिङ सेन्टरमा बसेका थिए । होल्डिङ सेन्टरमा ४० जना पुरुष र ४० जना महिला गरी ८० वटा टहरा, ८० वटा बाथरुम सहितको शौचालय, ८० वटा खाट, लत्ताकपडा र सुरक्षा चौकीको समेत व्यावस्था छ । यसपाली आवश्यकता परेको अवस्थामा उपयोग गर्ने गरी सरसफाइ गरी तयारी अवस्थामा राखिएको सीमा प्रहरी चौकी जरायोटारका प्रहरी नायव निरीक्षक भलबहादुर राईले बताउनुभयो ।

स्थानीय तहले गतवर्ष जस्तो कोरोना नियन्त्रणका लागि पर्याप्त रकम विनियोजन नगरेको, प्रदेश र सङ्घीय सरकारले समेत रकम नपठाएकाले उपकरण तथा औषधि खरिद गर्न रकम अभाव छ । रकम अभावको कारण संक्रमितको उपचार र स्वास्थ्य परीक्षणमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद भण्डारीले बताउनुभयो । पछिल्लो समय भोजपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । 

कोरोना नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्याङ्क अनुसार भोजपुरमा रामप्रशाद राई गाउँपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा, अरुण गाउँपालिकाका कर्मचारी सर्वसाधारण संक्रमितको संख्या दुई सय ८० जना पुगेको छ । मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

संक्रमितको संख्या बढेपछि नाकामा कडाई गर्न थालिएको छ । भोजपुर सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा पनि कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ । तराईबाट भोजपुर प्रवेश नाका मध्यपहाडी राजमार्गको जरायोटार, हतुवागढी गाउँपालिकाको हसनपुर, आमचोक गाउँपालिकाको रानीटार लगायत विभिन्न ठाउँमा प्रहरीले कडा निगरानी थालेको छ । 

प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहेता सहित योजना शाखा, प्राविधिक, कृषि, स्वास्थ्य शाखा, स्वास्थ्य केन्द्रका कर्मचारी, कार्यालय सहयोगी र सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको रामप्रशाद राई गाउँपालिका कार्यालयले जनाएको छ । कर्मचारीलाई कोरोना संक्रमित भएपछि स्वास्थ्य सेवा बाहेक गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा, बजार, पसल, बैक तथा वित्तीय संस्था, वडा कार्यालय बन्द गरिएको छ ।

संक्रमित अन्य कर्मचारीलाई आ–आफ्नो निवासमा आइसोलेसनमा छन् । भोजपुरको स्वास्थ्य संस्थामा पर्याप्त उपकरण अभाव भएकाले कोरोना संक्रमणको लक्षण भएका संक्रमितको स्वास्थ्य परीक्षण हुन सकेको छैन । प्रदेश र सङ्घीय सरकारले पर्याप्त मात्रामा पीसीआर र एन्टिजेन्ट किट्स नपठाएकाले कोरोना संक्रमितको परीक्षण गर्न कठिन भएको संकट व्यवस्थापन केन्द्र भोजपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताउनुभयो । 

कोरोना परीक्षणका लागि सरकारले भोजपुरमा ५० थान एटिन्जेन्ट किट्स प्रयोग भइसकेकाले थप परीक्षणका लागि उपकरण अभाव छ । भोजपुरमा कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएकोले बिरामीको स्वाप संकलन गरी परीक्षणका लागि विराटनगरस्थित प्रदेश स्वास्थ्य प्रयोगशाला र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने गरिएको जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमूख फणिन्द्र थापाले बताउनुभयो । 

काठमाडौं, धरान, विराटनगर लगायत मुख्य शहरमा कोरोना संक्रमण बढेपछि धेरै मानिस गाउँ फर्किएका छन् । गाउँ गाउँमा कोरोना फैलिएकाले स्वास्थ्य मापदण्ड अपनाउन संकट व्यावस्थापन केन्द्रले अनुरोध गरेको छ । काठमाडौं, विराटनगर, धरान लगायत तराईको अधिकांश शहर, गाउँ वस्तीमा कोरोना संकमण बढेसँगै भोजपुरको ग्रामीण भेगमा समेत कोरोना संक्रमण फैलिएको छ । 

टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, छाती र शरीरको विभिन्न भागमा दुख्ने जस्ता लक्षणका बिरामी निकै भएपनि स्वास्थ्य संस्थामा कोरोना परीक्षण गराउने उपकरण अभावले कोरोना परीक्षण गर्न सकेका छैनन् । 

अधिकांश बिरामीले सामान्य रुघाखोकी ठानेर स्वास्थ्य परीक्षण गराइरहेका छैनन् । तर जिल्ला अस्पतालमा आएका त्यस्ता बिरामीलाई एन्टिजेन्ट किटबाट परीक्षण गर्दा कारोना पोजिटिभ आउने गरेकाले स्थिति भयावह हुने सम्भावना रहेको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक राजेन्द्र राउतले बताउनुभयो । कोरोना संक्रमितको उपचारका लागि जिल्ला अस्पतालमा जनशक्ति अभाव र स्वास्थ्य उपकरणको कमी रहेको उहाँले जानकारी दिनुभयो ।

कोरोना संक्रमित बिरामीलाई उपचार तथा आइसोलेसनमा राख्न सदरमुकामस्थित जिल्ला अस्पतालमा १० बेड, सुम्निमा पोलिटेक्निक इन्स्टिच्युट देउरालीमा २० बेड, विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न जरायोटारमा निर्मित ८० बेडको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ । अस्पताल र देउरालीमा केही संक्रमित बिरामीलाई अक्सिजन सहित आइसोलेशनमा राखिएका छन् । 

यसबाहेक हरेक स्थानीय तहको स्वास्थ्य संस्थामा ५/५ बेडको आइसोलेसन बेड तयारी अवस्थामा रहेपनि अक्सिजन र स्वास्थ्य उपचार सामग्री अभाव रहेको संकट व्यवस्थापन केन्द्रले जनाएको छ । बिरामीको अत्यधिक चाप बढेको अवस्थामा प्रयोग गर्न प्रहरीले २८ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताउनुभयो ।