राष्ट्रिय

गाउँपालिकाका प्रशासकीय अधिकृतद्वारा स्वास्थ्य संयोजक कुटिए

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले स्वास्थ्य संयोजक मनबहादुर कुँवरमाथि हातपात गरेका छन् । प्रशासकीय अधिकृत दिनेश कुमार गौड (कहार) ले आफूमाथि हातपात गरेको भन्दै कुँवरले इलाका प्रहरी कार्यालय मझगावामा जाहेरी दिएका छन् । 

प्रशासकीय अधिकृत गौडले खरिद नगरेको सामग्रीको पनि बिल बनाई रकम निकासाको माग गरेको तर आफूले अनियमितता हुने भन्दै बिल नबनाउने बताएपछि रिसाएको उहाँले सुनाउनुभयो । 

असार ३ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट आफूलाई सरुवा गर्ने निर्णय गरिएको भन्दै उहाँले सूचनाको हक प्रयोग गरी पालिकाले कुन आधारमा सरुवा गर्‍यो भन्ने सूचना माग गरेको बताउनुभयो । 

‘सूचना एकसाता भित्र दिन्छौं, भनी प्रशासकीय अधिकृतले पठाए,’ उहाँले भन्नुभयो, ‘१३ गते कार्यालयमा पुग्दा नभेटेपछि भैरहवास्थित पालिकाको अर्को कार्यालय गएँ ।’ कार्यालय भित्र पस्ने बित्तिकै वडाध्यक्ष, लेखा अधिकृतको अगाडि आफूमाथि प्रशासकीय अधिकृत गौडले हातपात गरेको स्वास्थ्य संयोजक कुँवरले बताउनुभयो । 

आफूमाथि कुटपिट भएपछि ईलाका प्रहरी कार्यालय मझगावांमा आइतबार दिउँसो साढे ३ बजे जाहेरी दर्ता गराएको कुँवरले जानकारी दिनुभयो । पालिकाको बैठकले आफूलाई सरुवा गर्न नमिल्ने भन्दै अदालती प्रकृयामा जानका लागि सूचना माग गरेको उहाँको भनाई छ । 

घटनाको सुरुवातमै के भयो भन्ने बारे आफूहरुलाई थाहा नभएपनि विवाद बढ्दै गएपछि छुट्याएको वडा नम्बर–१ का अध्यक्ष राजमन जैसवालले बताउनुभयो । 

स्वास्थ्य संयोजक कार्यालयमा आउँदा आफूहरु अर्को कोठामा रहेको भन्दै विवाद भएपछि आफूहरुले प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकलाई सम्झाई बुझाई गरेको उहाँको भनाई थियो । सो घटना बारे बुझ्न फोन गर्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौडले कुनै प्रतिक्रिया दिएनन् ।