राष्ट्रिय

माग पुरा गराउन नेपाल शिक्षक महासंघको एक दिने ध्यानाकर्षण अनसन

- केएफएम डेस्क

आफूहरुको माग पुरा नभएको भन्दै नेपाल शिक्षक महासंघमा आबद्ध शिक्षकहरुले आज काठमाण्डौंको माइतीघर मण्डलामा अनसन बसेर सरकारको ध्यानाकर्षण गराएका छन् । महासंघका विभिन्न मागमाथि सरकारले गरेको ३० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षणका लागि अनसन शुरु गरेको अध्यक्ष होम कुमार थापाले बताउनुभयो । 

मूलुक संघीयतामा गएको लामो समय भइसक्दा पनि संघीय शिक्षा ऐन लागु हुन नसकेको महासंघमा आबद्ध शिक्षकहरुको गुनासो छ । महासंघले शिक्षा ऐन २०२८ खारेज गरेर संघीय ऐन लागु गर्नुपर्ने माग गरेको छ । यस्तै शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति नहुँदा आन्तरिक बढुवा, दरबन्दी खुलाउने लगायतका काम हुन नसकेको भन्दै चाँडो पदाधिकारी नियुक्ति हुनुपर्ने महासंघको माग छ । 

यस्तै सरकारले प्रारम्भिक बाल बिकासका इसीडीका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाए पनि स्थानीय तहले लागु नगर्दा मर्कामा परेको महासंघमा आबद्ध शिक्षकहरुको गुनासो छ ।