वीपी प्रतिष्ठान : एमसीएच भवन निर्माणमा कमसल इँटा र बालुवा प्रयोग
- सुनसरीधरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निर्माण गरिरहेको विवादास्पद र महत्वाकांक्षी परियोजना मानिएको ४ सय शय्याको मातृ तथा शिशु उपचार केन्द्र (एमसीएच) को भवनमा ठेकेदार कम्पनीले कमसल इँंटा र सामग्री प्रयोग गरेको छ ।
शर्मा रसुवा जेभि निर्माण कम्पनी र केज कन्सल्टेण्ट परामर्शदाता रहेको सो परियोजनाको भवनमा एक नम्बरको इँंटा प्रयोग गर्नुको सट्टा तीन नम्बरको प्रयोग भईरहेको प्रतिष्ठानकै प्राविधिकले बताएका छन् । कमसल इँंटासँगै निर्माण कम्पनी शर्मा रसुवा जेभिले माटोसरीको बालुवा प्रयोग गरिरहेको पाइएको छ । भवन निर्माणमा प्रयोग भएको इँटा वीरगञ्ज, बारा, सिराहा र भित्री मधेशबाट ल्याउने र रातारात प्रयोग गरिने गरिएको छ । डिजाइन र ड्रइङ अनुसार एमसीएच भवनमा करीब ८० लाख ओटा इँटा प्रयोग हुने अनुमान गरिएको छ ।
१ नम्बर इँटा प्रयोग गर्नुको सट्टा ३ नम्बर इँटा प्रयोग गर्दा ठेकेदार कम्पनीले कम्तिमा ८ करोड रुपैयाँ घोटाला हुने देखिएको प्राविधिकले बताएका छन् । धरानमा १ नम्बर इँटाको मूल्य प्रतिगोटा २६ रुपैयाँ सम्म पर्छ । तर, तीन नम्बरको इँटाको मूल्य १६ रुपैयाँ सम्म छ । १ नम्बर र ३ नम्बरको इँटाको मूल्यमा १० रुपैयाँ फरक पर्ने भएकाले ठेकेदार कम्पनीले भवन निर्माण भईसक्दा ८ करोड रुपैयाँ इँटाबाट मात्र घोटाला गर्ने देखिएको प्रतिष्ठानका प्राविधिकले बताए ।
बोलपत्र सम्झौतामा एमसीएच भवनमा आनन्द र त्रिशक्ति ब्राण्डको एक नम्बर इँटामात्र प्रयोग गर्नुपर्ने र बालुवा पनि पानीले धोएको हुनुपर्ने उल्लेख छ । तर, निर्माण कम्पनीले कमसल इँटा प्रयोग गरेको छ । हालसम्म भवन करीब ६५ प्रतिशत निर्माण भईसकेको छ ।
चार सय बेडको एमसीएच भवन निर्माणको कुनै गुरुयोजना नै नबनाई तत्कालीन उपकुलपति प्रा.डा बलभद्रप्रसाद दासले ७६ करोड रुपैयाँबाट लागत बढाएर मूल्य अभिवृद्धि कर बाहेक २ अर्ब १८ करोड ४५ लाख ९५ हजार ८३९ लागत तयार गरी शर्मा–रसुवा जेभिसँग २०७३ असार २९ मा सो निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसका लागि परामर्शदाता केज कन्सल्टेण्ट छनोट गरेको थियो ।
यति ठूलो लागतको भवन निर्माणमा लाखौं संख्यामा इँटा प्रयोग हुन्छन् । बालुवा र गिटी पनि लाखौं रुपैयाँ बराबरको प्रयोग हुन्छ । सम्झौतामा भवन निर्माण गर्दा १ नम्बरको इँटा प्रयोग गर्नुपर्ने शर्त छ । तर, निर्माण कम्पनी शर्मा–रसुवा जेभिले २ र ३ नम्बरको इँटा प्रयोग गरी करोडौं रुपैयाँ बराबरको अनियमितता गरिरहेको एक प्राविधिकले बताए । प्रतिष्ठानकै सिभिल इन्जिनियर विकास बस्याल र शिवनारायण साहले समेत निर्माण कम्पनीलाई साथ दिएपछि कमसल सामग्री प्रयोग गरिएको प्रतिष्ठान स्रोततले बतायो ।
५० वर्ष थाम्ने गरी निर्माण भईरहेको भवनमा कमसल इँटा र माटोसरीको बालुवा प्रयोग गर्दा पानी सोस्ने शक्तिमा ह््रास आउने भवनको आयु छोटिन्ने ती प्राविधिकले बताए । ती प्राविधिकले भने, ‘राम्रो नपकाएको कमसल इँटा र माटोसरीको बालुवा प्रयोग गर्दा लामो समयसम्म घामपानी थेग्न नसकेर निर्धारित आयुभन्दा अगाडि नै भत्किन सक्छ । चारतले भवन भत्किएमा भविष्यमा त्यहाँ उपचाररत आमा र बच्चाको मृत्यु भए कसले जिम्मा लिन्छ ?’
निर्माण कम्पनीले चार इन्चको वालमा एक भाग सिमेन्ट, चार भाग बालुवा र नौ इन्चको वालमा १ भाग सिमेन्ट ६ भाग बालुवाको मिश्रण गर्नुपर्नेमा सिमेन्टको बचत गर्न आफूखुशी माटोसरीको बालुवा मिसाउने गरेको पनि प्रतिष्ठानका एक प्राविधिकले बताए । ३ सय जना कामदारको सु्परीवेक्षणका लागि परामर्शदाताको एक जना सहित गरेर कम्तिमा सात जना इन्जिनियर हुनुपर्नेमा एकजना मात्र इन्जिनियर रहेका छन् ।
प्रतिष्ठान स्रोतका अनुसार एमसीएच भवन पहिलै ठेक्का सम्झौता भईसकेकाले निर्माण सामग्रीबाट कमिसन लिनका लागि उपकुलपति डा.ज्ञानेन्द्र गिरिले राखेको तत्कालीन प्रशासनिक सल्लाहकार दिलिप भट्टराईसँग मिलेर ओभरसियरबाट बढुवा भएका विकास बस्याललाई सिभिल इन्जिनियर शाखाको प्रमुख बनाएको र बस्यालले बिचौलियाका काम गरिरहेका छन् ।
सिमेन्ट, गिटी, बालुवा र इँटाको ल्याब परीक्षण निर्माण कम्पनीले आफ्नै ल्याबमा टेस्ट गर्ने गरेको छ । कमसल सामग्री प्रयोग भईरहेको बारे निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर कृष्णजंग कार्कीले भन्नुभयो, ‘सुनसरीमा इँटा अभाव भएकाले पाइएन । त्यसैले बारातिरबाट ल्याउनुपर्यो । भवनमा अरु भागमा १ नम्बर इँटा प्रयोग गर्ने र सोलिङ, आइल्याण्ड र मंगालमा २ नम्बर इँटा प्रयोग गर्ने सम्झौता छ । तर, ३ नम्बर इँटा प्रयोग भएको छैन ।’
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर कार्कीले धेरै इँटा ल्याउँदा कतिपय अवस्थामा ३ नम्बरको पनि मिसिएर आएको हुन सक्ने बताउनुभयो । माटो मिसिएको बालुवा प्रयोग गरिएको बारेमा विषयमा उहाँले ३ प्रतिशत मात्र माटो भएको स्वीकार्नुभयो । सम्झौता अनुसारको समयावधिमा निर्माण सम्पन्न नभएपछि गत वर्षको मे २९ मा दुई वर्ष म्याद थपिएको हो ।