राष्ट्रिय

खोप लगाएको कार्ड प्रमाणिकरण गर्नेको भीडबाटै कोभिड फैलने डर

- इन्द्रा लक्ष्मी घिमिरेकाठमाडौं

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य देशहरुले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएपछि नेपाल सरकारले जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराएको थियो । कतार र साउदी अरबले क्यूआर कोडसहितको खोप प्रमाणपत्र भएका कामदारलाई मात्रै क्वारेन्टाइन बस्नु नपर्ने गरी आन्तरिक प्रमाणपत्र एयरलाइन्स कम्पनीहरूलाई जारी गरेका छन् । कतारमा क्वारेन्टाइनमा बस्नका लागि झन्डै एक लाख रुपैयाँ खर्च लाग्छ । खोप लगाएको १४ दिनपछि विदेश जान पाइने प्रावधान छ र खाडी मुलुकहरुले क्यूआर कोडसहितको खोप प्रमाणपत्र भएकालाई मात्रै मान्यता दिएका छन् । त्यसैले पनि अहिले प्रमाणिकरणका लागि काठमाडौंको टेकु लगायतका अस्पतालमा भीड बढेको छ । जसले गर्दा कोरोना संक्रमणको जोखिम थप बढाएको छ ।

काठमाडौंको टेकु अस्पताल परिसरमा जम्मा भएको भीड नियन्त्रणका लागि हम्मेहम्मे परेको देखिन्यो । दैनिक २ सय ५० जनालाई खोप लगाएको प्रमाणिकरण गर्ने भनेर गेटमै सूचना टाँसेपनि दर्ता शाखामा बिहिबार दिउँसोसम्म झण्डै ३ सय जनाको नाम दर्ता भइसकेको थियो । बिहान ४ बजेदेखि लाइन बसेकाको पालो दिउँसो २ बजेसम्म पनि आएको थिएन । साउदी जान पोखराबाट काठमाडौ आएका रविन लुंगेली बुधबार टेकु पुग्दा प्रमाणिकरणका लागि लाइन बस्न लिनुपर्ने टोकन बाँड्ने समय घर्किसकेको थियो । त्यसपछि उनी बिहिबार बिहानै ५ बजे फेरि टेकु पुगे र बल्ल टोकन सम्म लिन पाए तर दिउँसो २ बजेसम्म पनि उनले खोप लगाएको प्रमाणिकरण भने भइसकेको थिएन ।

पर्साका मोहम्मद अलि कतार जान घरबाट बिदा त भए तर काठमाडौंमा आएर खोप लगाएको प्रमाणिकरण पत्र लिन नसक्दा अन्योलमा देखिन्थे । उनलाई मेनपावरले टेकुस्थित अस्पताल त पठायो तर सबै प्रक्रियाबारे जानकारी उनीसँग थिएन । त्यसै बुधबार दिनभरि लाइनमा बसेर उनी रित्तै हात फर्किए । सरकारले खोप लगाएको प्रामाणिकरणका लागि अनलाइनमार्फत पनि व्यवस्था गरेको छ । तर त्यसले वैदेशिक रोजगारीका लागि जान लागेका बहुसंख्यक कामदारलाई समेट्न सकेको देखिदैन । 

महोत्तरीका भुरी मण्डललाई अनलाइनको प्रक्रिया त परको कुरा अस्पतालमा लाइनमा बसेरै प्रमाणिकरण गर्दाको प्रक्रियाबारे समेत जानकारी थिएन । एक साता म्यानपावरको चक्कर लगाएपछि उनी बल्ल बिहिबार टेकु पुगेको बताउँछन् । भुरी मात्रै होइनन् जनकपूरका प्रदीप कुमार मण्डल पनि अनलाइन प्रक्रियाबारे अनविज्ञ देखिए । म्यानपावरले पनि उनलाई त्यसबारेमा सहजिकरण गरिदिनुभन्दा टेकुमै गएर लाइन बस्न सुझायो । उनी ७ घण्टा लाइनमा बस्दा पनि पालो भने आएको थिएन । 

सबैको पायक पर्ने, जानेबुझेको केन्द्र पनि भएकाले टेकु अस्पतालमा यतिबेला भीड बढ्नु स्वभाविक हो । तर त्यहाँ कुनै स्वास्थ्य मापदण्ड अपनाइएको देखिएन । लाइनमा बसेकालाई पनि कोरोनाको डर भन्दा कोभिड खोप कार्ड प्रमाणिकरण होला कि नहोला भन्ने मात्रै चिन्ता छ । यस्तो अवस्थामा यही भीडबाट कोभिड फैलने पक्का छ । भीड व्यवस्थापन र प्रमाणिकरणको काम किन भद्रगोल बनेको भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेल भन्नुहुन्छ, “अहिले भर्खरै सुरु भएको भएर पनि चाप बढी छ, १५/१६ हजारको हाराहारीमा आवेदन परेको छ, एकैपटक त्यति धेरै लोड थाम्न नसकेर हो ।, हामीले जनशक्ति पनि बढाएका छौँ बिस्तारै यो समस्या सहज बन्दै जान्छ ।”

स्वास्थय मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धमा जानकार अनि तालुकदार मन्त्रालय वा मातहतका निकायसँग पनि कुनै समन्वय भने गरेको छैन । वैदेशिक रोजगार विभागका प्रमुख कृष्ण प्रसाद दवाडी आफूहरुसँग स्वास्थ्य मन्त्रालयले कुनै परामर्श वा छलफल नै नगरेको बताउनुहुन्छ ।

त्यसो त कामदारलाई पठाउने व्यवसायीले सहजिकरण गरिदिओस् भन्ने अपेक्षा स्वास्थ्य मन्त्रालयले राखेको देखिन्छ तर अनलाइन प्रक्रिया व्यवहारिक नभएको र आफूहरुसँग कुनै समन्वय पनि नभएको भन्दै व्यवसायीहरुले यसमा खासै चासो देखाएका छैनन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ सरकारले आफूले समन्वय नगरेकोले पनि अहिले समस्या देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ अहिलेको समस्या भनेको टिकट पहिले नै काटिसकेका र एक/दुई दिन भित्रै विदेश जानुपर्नेका लागि देखिएको हो । टिकट पहिले नै काट्दा सस्तो पर्छ, आजको भोलि महँगो तिर्न कामदारले सक्दैनन् । अब, कि त सरकारले क्यूआर कोड नलिई टिकट नकाट भन्नुपथ्र्यो, त्यसका लागि समन्वय गरेको भए, छलफल गरेको भए, हामी त्यही अनुसार गर्न लगाउँथ्यौँ, यो अव्यवहारिक कार्यसम्पादनले पनि समस्या भएको हो ।”

हाल दैनिक २ हजार बढीको प्रमाणिकरण भइरहेको स्वास्थय मन्त्रालयको तथ्याङ्क छ । प्रमाणिकरणका लागि १५ हजार बढीको आवेदन परेको छ । भीड बढ्न थालेपछि मन्त्रलायले निजामति कर्मचारी अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल, बलम्बु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रमाणिकरणको लागि केन्द्र तोकेको छ तर ती पर्याप्त छैनन् । यसलाई व्यवस्थापन गर्न अन्य तालुकदार निकायसँग समन्वय गरी अघि बढ्न जरुरी छ तर समन्वय गर्ने तालुकदार मन्त्रालय नै अहिले नेतृत्व विहिन छन् । त्यसैले पनि समन्वयमा समस्या स्वभाविक पनि हो । तर तेस्रो लहरको सम्भावनाको चेतावनीका बीच सरकारले बैलेमा यसलाई व्यवस्थापन गर्न नसके यही भीड कोभिड संक्रमणको कारक नबन्ला भन्न सकिन्न ।