राष्ट्रिय

मंसिर अन्तिम सातासम्म रेल सञ्चालनमा आउने

- श्यामसुन्दर शशीकाठमाडौं

भारत सरकारको सहयोगमा निर्मित रेल संरचनाको दुबै देशका अधिकारीहरुले संयुक्त निरीक्षण थालेका छन् । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाको नेतृत्वको ५ सदस्यीय नेपाली टोली तथा भारतीय इरकोन कम्पनीका जेनरल मैनेजर रवि सहाय नेतृत्वको ५ सदस्ययी टोलीले आज कूर्था रेल्वे स्टेशनबाट स्थलगत निरीक्षण सुरु गरेको हो । टोलीमा दुबै देशका प्राविधिकहरु पनि छन् । भारत सरकारद्वारा निर्मित ट्रेक , भवन , सिगनल, स्टेशन भवन आदि संरचनाहरु को स्थलगत निरक्षण पश्च्यात आवश्यक पर्ने मर्मत संभार गरेर संरचना हस्तान्तरण प्रकृया अगाडी बढाइने बताइएको छ । 

नेपाल रेल्वेका महाप्रवन्धक निरञ्जन झाले स्थलगत निरीक्षण मिहिन रुपमा गरिएकोले एकसाता सम्म लाग्ने बताउनुभयो । संरचना हस्तान्तरण गराउन भारत सरकार नेपाल रेल्वे कम्पनीलाई बारम्बार ताकेदा गर्दै आएपनि संचालनमा नआउँदै अधिकांश ठाउँका भवन चुहिन लागेको तथा केही संरचना अधुरै रहेकाले नेपाल पक्ष स्वामित्व ग्रहण गर्न आलटाल गर्दै आएको थियो । यस बीच भारतको कोंकन रेल्वे कर्पोरेशन र नेपाल रेल्वे कम्पनी बीच भएको सम्झौता अनुसारको पहिलो किस्ता वापतको साढे ७ करोड नेपाल सरकारले गत साता भारतीय पक्षलाई भुक्तान गरेको महाप्रवन्धक झाले जानकारी दिनुभयो । रेल संरचनाको स्वामित्व ग्रहण पश्चात आफूहरुको प्रमुख ध्येय रेल संचालन हुने महाप्रवन्धक झाले बताउनुभयो । मंसिर अन्तिम सातासम्म रेल सञ्चालन भइसक्ने उहाँको दाबी छ ।