राष्ट्रिय

गोरखा दरवारको दशैंघरमा जमारा राखियो

- हरिराम उप्रेतीगोरखा

हिन्दूहरुको महान चाड बडा दशैंको पहिलो दिन आज (बिहीबार) घरघरमा वैदिक विधिपूर्वक दियो कलश र गणेश सथापना गरेर घटस्थापना गरिएको छ । ऐतिहासिक गोरखा दरवारमा पनि विधिपूर्वक पूजा गरी बिहान ११ बजेर ४६ मिनेट १४ घडी १८ पोलाको उत्तम साइतमा जमारा राखियो । 

घडी पला अनुसार उत्तम साइतमा विधिपूर्वक गोरखकाली मन्दिरको दशैँ घर र जमारा कोठामा जमारा राखिएको गोरखा दरवारका पुजारी शारदा प्रसाद भट्टराईले बताउनुभयो । दशैँ घर र जमारा कोठामा दुई पाथी चार माना, गोरखनाथ गुफामा एक पाथी, उपल्लो कोटमा दुई माना र तल्लो कोटमा एक माना जौको जमारा राखिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘परापूर्व कालदेखिको प्रचलनलाई निरन्तरता दिँदै जमारा राख्यौँ, आज घटस्थापना स्थापना गरेर आज शैलिपुत्री भगवतीको पूजा भएको छ ।’ नवरात्र भर गोरखा दरवारमा विशेष पूजा हुँदै आएको छ । 

गोरखा दरवारमा पूजाका लागि बिहीबार साँझबाटै सुसारेहरु सक्रिय थिए । बुधबार बिहान ५.४० को शुभ साइतमा हर्षबढाइँका साथ कैलाश कोठाबाट मुल पूजाकोठामा भगवती सवारी गरिएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताउनुभयो । 

‘उज्यालो पनि होइन अँध्यारो पनि होइन, नाडीको रौँ देखिने उज्यालोमा देवता सार्ने उहिले देखिको चलन हो,’ उहाँले भन्नुभयो, ‘गोरखा दरवार पुनर्निर्माणको क्रममा छ, पहिले जस्तै कैलाश कोठाबाट रंगमहल हुँदै कालिका मन्दिरको उपभोग गर्न सकेनौं, स्थान यता उता भएपनि सांस्कृति गतिविधिलाई भने निरन्तरता दियौँ ।’ 

बुधबार चित्रा नक्षर र बैघेटी योग परेकाले स्वस्वती पूजा पनि भएको उहाँले बताउनुभयो । दशैंभर हुने विशेष पूजाका लागि कलह, भाडार्वत थरघरको परम्परा अनुसार सफा गरिएको उहाँले जानकारी दिनुभयो । 

दशैंको पहिलो दिन १५ ब्रम्हाण र १० सुसारे तथा भृकोटे पूजामा संलग्न छन् । नियमित पूजा बाहेक कालिका र गोरखनाथमा दुई वटा सरकारी वली पनि चढाइएको उहाँको भनाई छ । नवरात्रभर पञ्चमीसम्म गोरखा दरवारमा परम्परादेखिको विशेष पूजालाई निरन्तरता दिन सबै तयारी गरिएको थियो ।