राष्ट्रिय

बारामा मोडर्ना खोप अभियान अन्यौल

- लक्ष्मी साह

सरकारले १२ देखि १७ बर्ष उमेर समुहका स्कुले बालबालिकाका लागि कोभिडविरुद्धको मोडर्ना खोप देशभर सुरु भएको एक साता बिते पनि बारामा अझै सुरु हुन सकेको छैन । कहिलेदेखि सुरु गरिने भन्ने अझै निश्चित छैन । विद्यार्थीहरुको विवरण उपलब्ध नभएकोले खोप सञ्चालन नभएको स्वास्थ्य कार्यालयका अधिकारीहरुले बताएका छन् ।

१६ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले स्वास्थ्य कार्यालयमा विवरण उपलब्ध गराएका छैनन् । उपलब्ध गराइसकेका १२ स्थानीय तहका स्कुले बालबालिकाले व्यवस्थापनको अभावमा खोप लगाउन सकेका छैनन् । खोप सुरु भए नभएको बारेमा स्थानीय स्तरमा रहेको जिल्ला कोभिड व्यवस्थापन तथा नियन्त्रण समिति समेत बेखबर छ । समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले खोप सञ्चाल नभए/नभएबारे बेखबर भएझैं तत्कालन सुरु गर्न आफुले स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताउनुभयो ।

सरकारले १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाको लागि गत पुस ४ गते देखि मूलुकका ५७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने निर्देशन दिदैँ त्यहीअनुसार प्रदेशमा खोप पठाएको हो । बारामा भने विद्यार्थीको विवरणको अभावमा स्वास्थ्य कार्यालयले खोप अझै ल्याउन नसकेपछि खोप अभियान समेत प्रभावित भएको छ ।