राष्ट्रिय

पासोमा परेर कैलालीमा एउटा चितुवा मर्‍यो

- मोहन बुडाऐरधनगढी

कैलालीको घोडाघोडी नगरपालिका–१० चुरेफेद घेरौखाको जंगलमा एक वयस्क चितुवा पासोमा परेर मरेको छ । पहलमानपुर वन डिभिजन कार्यालयका डिभिजन अधिकृत गोकुल रिजालका अनुसार बिहीबार बिहान ७ बजे वयस्क चितुवा घेरौखा वनमा पासोमा परेको थाहा भएको थियो । 

उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरु आउने बेलासम्ममा चितुवाको मृत्यु भईसकेको थियो । ‘बिहान ७ बजे चितुवा पासोमा परेको थाहा भएको थियो,’ उहाँले भन्नुभयो, ‘वयस्क भएकोले प्राविधिक टोली बोलाउनु परेको थियो । बोलाउँदा अबेर भईसकेकाले मृत्यु भयो ।’

चितुवालाई स्थानीय जंगलमैं गाडेको डिभिजन अधिकृत रिजालले बताउनुभयो । चितुवाले बाख्रा बंगुर पनि खाईसकेको स्थानीयको भनाईलाई उल्लेख गर्दै रिजालले जानकारी दिनुभयो । 

घटनाको बारे अनुसन्धान भईरहेको वन डिभिजन कार्यालयले जनाएको छ । पहलमानपुरको घेरौखा वनक्षेत्र कैलालीको बसन्ता संरक्षित क्षेत्रमा पर्छ । 

पछिल्लो समयमा सो क्षेत्रमा बाघ चितुवा लगायत वन्यजन्तुको आगमन बढेसँगै चोरी सिकारी पनि बढेको संरक्षण प्रेमी हेरुलाल चौधरीले बताउनुभयो । ‘उक्त पासो वन्यजन्तुुका सिकारीले नै राखेका हुनु पर्छ,’ उहाँले भन्नुभयो, ‘यो घटनाले चोरी सिकारी पनि बढेको कुरालाई पुष्टि गर्छ ।’