जनकपुरमा दलहरु दबाबमा
-निर्वाचनको मुखमा दल परिवर्तन गर्दै अर्को दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका कारण धनुषाका स्थानीय तहमा प्रमुख दलहरु दवावमा परेका छन् । पार्टी परित्याग गरेर चुनाव लड्ने तयारी स्थानीय नेता कार्यकर्ताले गरेपछि नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई दवाव थपिएको हो । टिकट वितरणमा नातावाद र कृपावादसंँगै आर्थिक चलखेल भएको आरोप समेत लागेको हाम्रा सहकर्मी श्यामसुन्दर शशीले जनाएका छन् ।
उम्मेदवारीका लागि सम्वन्धित समितिहरुले मापदण्ड तोकेपनि टिकट वितरणमा शिर्ष नेता तथा निकट नेता कार्यकर्ताहरुले मनोमानी गरेको असन्तुष्ट पक्षका नेताहरुले गुनासो गरेका छन् । धनुषाका जनता समाजवादी पार्टी हंसपुर नगर समितिका अध्यक्ष रामनारायण कापडीले उम्मेदवार चयनमा चरम लार्पवाही र चलखेल भएको दु:खेसो गर्नुभयो । धनुषमा सबैभन्दा बढी असन्तुष्टी कंग्रेसभित्र देखिएको छ । सत्ता गठबन्धनको निर्णय अनुसार जनकपुरधाम उपमहानगरको मेयर पद जनता समाजवादी पार्टीको भागमा परेपछि कांग्रेस नगर समितिमा चर्को विवाद भएको छ ।
कांग्रेस नगर समितिका सभापति मनोज साहले नै पार्टी परित्याग गर्दै मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उपमेयरको टिकट नपाएकी कांग्रेस नेतृ किशोरी साहले पार्टी परित्याग गरी एमालेबाट उपमेयरको उम्मेदवार बन्नुभएको छ । कांग्रेस नेता निर्मलकुमार चौधरीले उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।