राष्ट्रिय

आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औंसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्दै यो पर्व मनाउने गरिन्छ । आज बिहान सबेरै स्नान गरी आमालाई आफुले सकेको उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । हिन्दु शास्त्रमा समेत जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूलो भनी वर्णन गरिएको छ । यसैबीच काठमाडौंको मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आज श्रद्धालु भक्तजनको भीड लागेको छ । आजकै दिन भक्तपुरका नेवार समुदायले हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध एवं तर्पण दिने प्रचलन छ ।