जनकपुरको चुनाव प्रचारमा केजरी मोडल
-दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको चुनावी एजेण्डा र विकासको मोडल अचेल जनकपुरका मेयर उम्मेदवारहरुका लागी चुनावी एजेण्डा बन्न थालेको छ । केजरीवालकै शैलीमा उनिहरुले जनकपुरमा गुणस्तरीय सामुदायिक शिक्षा, नि:शुल्क स्वास्थ्य सेवा, नि:शुल्क विजुली र खानेपानी संगै स्मार्ट नगरबनाउने सुन्दर सपना देखाउन थालेका छन् । ‘क’वर्गको रमण कन्सट्रक्शनबाट विराम लिएर बलराम महतो चुनावी मैदानमा उत्रेका छन् । जनकपुरधाम उपमहानगर पालिकाको स्वतन्त्र उम्मेदवारको रुपमा पहिलो पटक चुनावी राजनीतिमा होमिएका महतोले आज घोषणापत्र सार्वजनिक गरेका छन् ।
यसअघि एमालेबाट मेयर पदका उम्मेदवार शिवशंकर साह हीराले पनि स्मार्ट नगर, स्मार्ट विद्यालयसंगै नि : शुल्क स्वास्थ्य सेवा र गरिब परिवकारका लागी नि:शुल्क विजुलीसम्मको वाचा गरेर प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए । नेपाली कांग्रेस परित्याग गरि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साह, सत्तागठबन्धन दलबाट मेयरका उम्मेदवार जसपा नेता लालकिशोर साह,लोकतान्त्रिक समाजवादीका मेयर उम्मेदवार मनोज चौधरी तथा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साह लगायतले पनि स्वास्थ्य, शिक्षा, रोजगारी, महिला हिंसासंगै विकास निर्माणका एजेण्डा राखेर लिखित तथा मौखिक प्रतिवद्धता व्यक्त गर्दै आएका छन् ।