राष्ट्रिय

मोतिपुरका कसैलाई घरबारविहीन बनाउँदैनौं : गृहमन्त्री खाँण

- दीपेन्द्र बडुवालसन्जु पौडेलरुपन्देही

गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँ बस्दै आएका परिवार घरवारविहीन नहुने बताउनु भएको छ । मंगलबार रुपन्देहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले वर्षौंदेखि मोतीपुर क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई घरवारविहीन नहुने गरी औद्योगिक क्षेत्र बनाईने बताउनुभयो । 

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर निर्माण गरिने र अहिले बसोबास भएकालाई घरविहीन हुन नदिने बताउनु भएको हो । ‘मोतिपुरमा बसोबास भएका व्यक्तिको घर त के, आँगनमा रहेको बोट समेत उखेल्न दिइने छैन,’ उहाँले भन्नुभयो, ‘ढुक्कले सुत्नुस, गठबन्धन तपाईको साथमा छ । म तपाईको साथमा छु ।’ गृहमन्त्री खाँणले औद्योगिक क्षेत्र निर्माणका क्रममा जनतालाई पुग्ने पीडामा मलम नलगाए नेताहरु खरानी हुने चेतावनी दिनुभयो । ‘नागरिकको बास र जीवन रक्षाका लागि आवश्यक परे आन्दोलन हुन्छ,’ खाँणले भन्नुभयो, ‘उक्त आन्दोलनमा नागरिकसँगै गठबन्धनका नेता र म सहभागी हुन्छौं ।’ औद्योगिक क्षेत्रमा बसोबास रहेका परिवारको जग्गा बचाउन क्षेत्रफल घटाउने औपचारिक निर्णय भइसकेकाले नआत्तिन उहाँले आग्रह गर्नुभयो । ‘साढे दुई महिनाअघि बुटवल उपमहानगर पालिकामा मैले आह्वान गरेर सरोकारवालाबीच औद्योगिक क्षेत्रको पुन: नक्सांकन गरेर क्षेत्रफल घटाउने औपचारिक निर्णय गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘मोतिपुरबाट नागरिक नहटाउने निर्णय भएको छ ।’ जनतालाई प्रताडित गरेर हुने बिकासप्रति आफ्नो समर्थन नरहने गृहमन्त्री खाँणको भनाई छ । ‘३० वर्ष अघि सांसद हुँदा म युवा थिएँ, त्यो बेला भएको भए आक्रोशमा निर्णय गर्थे होला,’ उहाँले भन्नुभयो, ‘अहिले म धार्मिक भइसकेँ । नागरिकका पीडाले मलाई गम्भीर तुल्याउँछन । म नागरिकलाई मर्का पर्ने निर्णय गर्न सक्दिन ।’ औद्योगिक क्षेत्र निर्माणमा तत्काली सरकारले हतार गरेकाले समस्या निम्तिएको उहाँको आरोप थियो । ‘तत्कालीन मन्त्री ज्यूलाई शिलान्यास गर्न हतार नगर्नुस भनेर अनुरोध गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘तर, मान्नु भएन, हतारमा खाल्डो खन्नु भयो, त्यो खाडल हामीले पुर्नुपर्छ ।’ राजनीतिक दलकाबीचको सहमति र एकताले नेपालमा ठूला परिवर्तन भएको भन्दै खाँणले जनताको अवस्था बदल्न र आर्थिक क्रान्ति गर्न गठबन्धन गरिएको बताउनुभयो । ‘राजनीतिक दलकाबीचमा सहमति र एकताले नेपालमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन्,’ उहाँले भन्नुभयो, ‘अब नेपालमा आर्थिक र औद्योगिक क्रान्तिको आवश्यकता छ, त्यो सत्ता गठबन्धनले मात्रै पूरा गर्न सक्छ ।’ सत्ता गठबन्धनले रुपन्देही सहित देशभर नै सफलता प्राप्त गर्ने दाबी गर्दै जनताले गठबन्धनलाई विजयी गराउनेमा आफू ढुक्क भएको उहाँले बताउनुभयो ।