राष्ट्रिय

मुस्ताङको मतदानस्थल हिँडेका कर्मचारीे हिउँले बाटोमै रोकिए

- घनश्याम खड्काम्याग्दी

मुस्ताङको एक मतदान केन्द्र हिंडेको मतदान अधिकृतसहितको टोली बाटोमा जमेको बाक्लो हिउँ छिचोल्न नसकेपछि रोकिएको छ । प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेलका अनुसार वारागुङमुक्ति क्षेत्र गाउँपालिका, ५ साङ्ता स्थित हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा मतदान गराउन कर्मचारी र सुरक्षाकर्मी पुग्न नसकेका हुन ।

निर्वाचन कार्यालयका अनुसार साङताको हिमाली आवि मतदान केन्द्रमा ३५ जना मतदाता छन । ‘मुस्ताङ–डोल्पा जाने बाटोमा करिब एक किलोमिटर क्षेत्रमा बाक्लो हिउँ जमेकाले मतदान अधिकृत समेत कर्मचारी र सुरक्षाकर्मी पुग्न समस्या भएको छ । शुक्रवार डोजर लगेर बाटो सफागरी कर्मचारी पुर्‍याउने योजनामा छौं’ प्रहरी नायव उपरिक्षक पौडेलले भन्नुभयो, ‘एक हप्ता अघि मतदान केन्द्र अनुगमनमा जाँदा ठिकै थियो अहिले हिउँ जमे छ । उच्च भुगोल हो, पर्सी फर्कदा फेरी उस्तै बन्न सक्छ, हामी सतर्क छौं ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अनुसार आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचन गराउन मतदान अधिकृतहरुसहित २ सय ९६ जना कर्मचारीहरु आवश्यक मतदान सामाग्री, सुरक्षाकर्मीसहित मतदान स्थल पुगेका छन ।

‘हाम्रा सवै मतदान अधिकृतहरु आवश्यक मतदान सामाग्रीसहित मतदानस्थल पुगेका छन । सवै तयारी पुरा भएको छ’ मुख्य निर्वाचन अधिकृत इश्वर पराजुलीले भन्नुभयो, ‘मतदान स्थल निर्माण र यता मतगणना स्थलको ब्यवस्थापनका काम धमाधम भैरहेको छ ।’

प्रतिनिधी सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाताले ३८ वटा मतदान केन्द्रबाट मतदानमा भाग लिँदैछन । निर्वाचन कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार सवैभन्दा कम वारागुङमुक्ति क्षेत्र गाउँपालिका अन्तरगतको समर आधारभुत विद्यालय मतदान केन्द्रमा ३४ जना र बढी थासाङ गापाको जनआदर्श मावि कोवाङ मतदान केन्द्रमा ६ सय ५० मतदाता रहेका छन । त्यस्तै सबैभन्दा दुर्गम लोमन्थाङगापाको सम्जोङ मतदान केन्द्रमा ६१ जना र वारागुङमुक्ति क्षेत्र गापा, छ साङताको हिमाली आवि मतदान केन्द्रमा ३५ जना मतदाता रहेका छन ।