विवाह महोत्सवको तयारी तिव्र
-निर्वाचन सम्पन्न भएको भोलिपल्ट मंसिर ५ गतेदेखि सुरु भई १३ गतेसम्म आयोजना हुने रामजानकी विवाह महोत्सवको तयारी तिव्र पारिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार– कोरोना महामारी सकिएपछि पहिलो पटक आयोजना हुन लागेको महोत्सवमा देश विदेशबाट १० लाख बढी श्रद्धालु सहभागी हुने छन् । त्रेतायुगमा भगवान राम र सीताको विवाहको स्मृतिमा प्रत्येक वर्ष मंसिर शुक्ल पक्षको पञ्चमी तिथिमा मिथिलाञ्चलभर आयोजना हुने राम जानकी विवाह महोत्सव सीता जन्मभूमि जनकपुरधाममा भने साता व्यापी मनाउँने परम्परा छ । कोरोना महामारीको प्रभाव घटेको तथा जनकपुर–जयनगर रेलसेवा संचालनमा आएकाले श्रद्धालुको संख्यामा बढ्न सक्ने महन्त दासको अनुमान छ ।
महोत्सवको सातैदिन आयोजना हुने रामलीला तथा धार्मिक कार्यक्रमका लागि जानकी मन्दिर प्राङगणमा मञ्च निर्माण गरिएको छ । जानकी मन्दिरको मुख्य मन्दिरलाई रंग रोगन गरिएको छ भन्ने राम जानकी विवाह मण्डपलाई सफा सुग्घर पारी नयाँ जातिका फूलहरु लगाइएका छन् । महोत्सवको क्रममा आयोजना हुने फूलवारी लीलाका लागि विवाह मण्डपको फूलवारीलाई विशेष श्रृंगार पटार गरिएको हो । जानकी मन्दिरले सार्वजनिक गरेको साताव्यापी महोत्सवको कार्यक्रम अनुसार पहिलो दिन मंसिर ७ गते नगरदर्शन, दोश्रो दिन मंसिर ८ गते फूलबारी लीला, तेश्रोदिन मंसिर ९ गते धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव,पाँचौदिन मंसिर ११ गते मटकोर, छैठो दिन मंसिर १२ गते स्वयंवर रामसीता विवाह तथा सातौदिन मंसिर १३ गते रामकलेवा भोज गरी महोत्सव सम्पन्न हुने छ ।
राम जानकी विवाह महोत्सवमा राम जन्मभूमि अयोध्याबाट जन्ती आउने परम्परा छ । यसका अतिरिक्त भारत, उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् आध्यात्मिक गुरु सतपालजी महाराज तथा राम मन्दिर न्यास परिषद्का सुरेश पंकजपनि विवाह महोत्सवमा सहभागी हुने कार्यक्रम छ । लाखौंको सहभागिता रहने राम जानकी विवाह महोत्सवमा आवास, शौचालय तथा ट्राफिक व्यवस्थापन मुख्य चुनौती रहँदै आएको छ । महन्त दासका अनुसार–बृहत्तर जनकपुर क्षेत्रविकास परिषद्को सहयोगमा बाह्रविघामा आवास क्षेत्रको निर्माण हुँदैछ । अस्थायी शौचालय निर्माण गर्ने जिम्मा जनकपुरधाम उपमहानगर पालिकालाई दिइएको महन्त दासले जानकारी दिनुभयो ।