राष्ट्रिय

पाल्पामा मतगणना ३ बजेदेखि सुरु गर्ने सहमति

- रुमाधव अर्यालपाल्पा

पाल्पामा क्षेत्र नम्बर १ र २ मा सोमबार ३ बजेदेखि मतगणना सुरु गर्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले राखेको सर्वपक्षीय बैठकले दलको प्रतिनिधि खटाउने समय माग गरेकाले केही ढिला गरी मतगणना कार्य हुन लागेको हो । 

सोमबार बिहान ५ बजे मात्रै सबै स्थानबाट आएका मतपेटिका रुजु गरेर शिलबन्दी गरिएको छ । सर्वपक्षीय बैठक ११ बजेदेखि बसेको थियो । सर्वपक्षीय सहमति अनुसार मतगणना ३ बजेदेखि सुुरु हुने मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो । सदरमुकाम तानसेनस्थित बालमन्दिर भवनमा चार वटा टोली बनाएर मतगणना हुने भएको मुख्य निर्वाचन अधिकृत विष्टले बताउनुभयो । 

क्षेत्र नम्बर १ र २ मा प्रदेश र प्रतिनिधि सभाको गरी चार स्थानमा गणना हुनेछ । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । मतगणनामा तारजाली लगाइएको छ भने सीसी क्यामेराको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । मतपरिणाम बाहिर सार्वजनिक गर्न माइक लगाइएको छ भने मिडिया सेन्टर पनि बनाइएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाल्पामा ६० दशमलव ९४ प्रतिशत मत खसेको निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिनुभयो । दुई वटा निर्वाचन क्षेत्रका दुई लाख १ हजार ३२६ मतदाता रहेकोमा १ लाख २२ हजार ६९४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा ५८ हजार ४९१ र क्षेत्र नम्बर २ मा ६४ हजार २०३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।