राष्ट्रिय

वडा अध्यक्षले रकम नतिरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

- राजकुमार कार्कीसिन्धुली

दुधौली नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गरेको खर्च वडाध्यक्ष जयबहादुर पौडेलले नतिरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो । 

निर्वाचनका बेला भएको खर्च पटक–पटक माग गर्दा समेत वडाध्यक्ष पौडेलले बेवास्ता गरेकाले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको पीडितहरुले बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा पौडेल नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

खर्च भएको रकम भुक्तानी माग्ने पनि कांग्रेस कार्यकर्ताहरु नै रहेको छन् । चुनावको प्रचारप्रसारका क्रममा खाना, खाजा लगायत खर्च र पसलहरुमा बाँकी रहेको १० लाख रुपैयाँ बराबरको रकम वडाध्यक्ष पौडेलले ६ महिना बित्न लाग्दा समेत भुक्तानी नगरेपछि तालाबन्दी गर्नु परेको पीडित मध्येका एक नेत्र तिमल्सेनाले बताए । 

इलाका प्रहरी कार्यालय डकाहामा समेत उनीहरुले रकम भुक्तानीको लागि निवेदन दर्ता गराएका छन् । वडाध्यक्ष पौडेलले चुनावमा खर्च भएको १५ लाख रुपैंयाँ यसअघि नै भुक्तानी गरिसकेको बताउनुभयो । चुनावमा आर्थिक समिति बनाएर त्यसको संयोजक कमल अधिकारीलाई बनाईएको भन्दै भुक्तानी नगरेर अपचलन गरेको हुनसक्ने अध्यक्ष पौडेलको भनाइ छ ।