राष्ट्रिय

दार्चुला घटना सम्बन्धमा भारतलाई कूटनीतिक नोट पठाउने सरकारको तयारी

- केएफएम डेस्ककाठमाडौं

दार्चुलास्थित महाकाली नदीमा एकतर्फी तटबन्ध बनाएको विषयमा सरकारले कूटनीतिक समाधानको पहल सुरु गरेको छ । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार गत आइतबार भएको झडपको घटना विवरण र अनधिकृत रुपमा निर्माण भइरहेको तटबन्धका विषयमा हिजो गृह मन्त्रालयबाट पत्राचार भएपछि परराष्ट्रले आज भारतीय विदेश मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरेको छ । 

आवश्यक अध्ययन र प्रक्रिया पूरा गरेर आज साँझसम्म भारतीय विदेश मन्त्रालयलाई कूटनीतिक नोट पठाउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताउनुभयो । गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदन सहित दीर्घकालीन प्रयासका लागि परराष्ट्र मन्त्रालयलाई गृहले हिजो पत्राचार गरेको थियो । 

नेपालको भू–भागमा क्षति पुग्ने गरी महाकाली नदीमा तटबन्ध निर्माण भएपछि गत आइतबार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाब नेपालतर्फ फर्काएर एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण गरिरहेको छ ।

 त्यसको विरोध गरेपछि आइतबार दुवैतर्फ ढुंगा हानाहान भएको थियो । ढुंगाले लागेर एक बालकसहित ४ जना घाइते भएका थिए । सोमबार भारतीय पक्षले बिना जानकारी ३ घण्टा सीमा पुल बन्द गरेको थियो ।