राष्ट्रिय

अपराध रोक्न विद्यालयमा चितवन प्रहरीको पाठ्य सामग्री

- रमेश कुमार पौडेलचितवन

किशोर किशोरीहरू अपराधमा नलागुन र पिडित नबनुन् भन्ने उद्देश्यले चितवन प्रहरीले विद्यार्थीका लागि पाठ्यसामग्री तयार गरेको छ । 

साइबर अपराध, यौन हिंसा, लागू औषध जस्ता अपराधहरू समाजमा बढ्दो क्रममा रहेको र यसमा किशोर किशोरीहरू बढी प्रभावित भएको चितवन जिल्ला प्रहरीका कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । त्यसैले विद्यार्थीलाई सजग र सचेत गराउन पाठ्य सामग्री तयार गरेको उहाँको भनाइ छ ।

 प्रहरीले ७८ सालको चैत्र २४ मा पहिलो पटक भरतपुर महानगरपालिकाका विद्यालयहरूका लागि चेतनामुलक विद्यालय पाठ्यसामग्री वितरण गरेको थियो । आज इच्छाकामना गाउँपालिकाका लागि पाठ्यसामग्री वितरण भएको छ । योसंगै चितवनका सातै पालिकाहरूमा पाठ्यसामग्री पुगेको एसपी अधिकारीले जानकारी दिनुभयो । 

लागू औषध दुर्व्यसन, धूमपान, मद्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालहरूको सुरक्षित प्रयोग, महिला तथा बालबालिका विरूद्ध हुने अपराधहरू, सामाजिक अपराधहरू, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणी सम्बन्धी कसुर (अपराध), ट्राफिक सचेतना, विपद् जोखिम र न्युनिकरणका उपायहरू पाठ्यसामग्रीमा समेटिएका छन् । समाजमा आत्महत्या चिन्ताजनक रूपमा बढेकाले रोक्न पाठ्यसामग्रीमा ती सामग्रीहरू समावेश गरिएको उहाँले बताउनुभयो ।