राष्ट्रिय

सिद्धार्थनगरले थाल्यो छाडा चौपाया व्यवस्थापन

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको काम सुरु गरेको छ । नगरको सौन्दर्यतासँगै दुर्घटनाको जोखिम बढ्दै गएपछि पालिकाले छाडा चौपाया व्यवस्थापन थालेको हो । 

राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाई–गोरु) व्यवस्पाथन गर्न सुरु गरिएको नगर प्रमुख इश्तियाक अहमद खानले बताउनुभयो । ‘हामीले छाडा गाई गोरुको व्यवस्थापन गर्न सुरु गरेका छौं’, खानले भन्नुभयो, ‘नगरबासीले पालेका गाईले दूध दिउन्जेल पालेर अनि छोड्न हुँंदैन ।’

अन्य पालिका, खुला सीमाका कारण भारत र नगरबासीले पनि पालेका गाई गोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या बढी देखिएको नगरपालिकाको कार्यालयले जनाएको छ । छाडा चौपायाले नगर सौन्दर्यकरणका लागि लगाइएका बिरुवा, धान खेत लगायतमा नोक्सानी गर्दै आएका छन् । 

भारतबाट छाडा गाई गोरुको प्रवेश नियन्त्रणका लागि सस्शत्र प्रहरी र छिमेकी पालिकाबाट प्रवेश नियन्त्रणका लागि नेपाल प्रहरीले सहयोग गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ । व्यवस्थापनका लागि नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा नगर क्षेत्रबाट छाडा चौपायालाई एकत्रित गरी राख्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनुभयो ।

तत्कालका लागि छाडा चौपायालाई एकत्रित गरेर राख्न व्यवसायी कृष्णप्रसाद शर्माले होल्डिङ सेन्टको रुपमा जग्गा उपलब्ध गराएको बताउनुभयो । नगरपालिकाको कार्यालयले एकत्रित गरेको छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालन पोषण गर्ने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार केन्द्रले सो चौपायाहरुको स्वास्थ्य स्थिति लगायत अवस्था बारे नगरपालिकाको कार्यालयलाई जानकारी समेत गराउनेछ । 

नगरपालिकाको कार्यालयले वडा नम्बर ११ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा कान्जी हाउस निर्माणको प्रक्रिया पनि अघि बढाएको पौड्यालले बताउनुभयो । सो हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।