राष्ट्रिय

बराहक्षेत्रमा जंगली हात्ती मृत फेला

- प्रदीप मेन्याङ्बो सुनसरी

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिका सामुदायिक वन क्षेक्रमा शुत्रबार बिहान एक जंगली हात्ती मृत फेला परेको छ । अन्दाजी २५–३० वर्षको देखिने दाह्रा निस्किएको मत्ता हात्ती मृत अवस्थामा फेला परेको सव डिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार कानमा तीन वटा प्वाल रहेको र ट्याग लागेको अवस्थामा हात्ती मृत भेटिएको हो । वन कार्यालयका कर्मचारी खेमराज हाछेथुका अनुसार सो हात्ती भारतको आसाम हुँदै पूर्व मेची नदी पार गरेर नेपाल छिरेको वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको भन्ने यकिन हुन सकेको छैन । 

दुर्गन्धित अवस्थामा फेला परेकाले करीब तीन चार दिन अघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ । वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि मृत हात्तीको पोस्टमार्टम गरिने वन कार्याययले जनाएको छ ।